वालिङका बाख्रा पालक कृषकलाई युरिया मोलासेस मिनरल ब्लक बनाउने तालिम

सुशील सुवेदी
स्याङ्जा , चैत्र ५ गते

पशु पालक किसानलाई हिउँदको समयमा हरियो घाँसको निकै समस्या हुन्छ । फलस्वरुप सुकेका पराल र नल जस्ता कम पौष्टिक भएका आहार खुवाउनुपर्ने बाध्यता किसानहरुको छ । यस्ता आहाराको कारण गाई भैँसीले कम दुध दिने र भेंडाबाख्रामा मासुको तौल घट्ने समस्या हुने गर्दछ ।
यस्तै समस्यालाई समाधान गर्न र उत्पादकत्व वृद्धि गर्न वालिङ नगरपालिकाले यहाँका व्यवसायीक बाख्रा पालक कृषकलाई युरिया मोलासेस मिनरल ब्लक बनाउने तालिम प्रदान गरेको छ ।
“पशुको पाचन प्रणालीमा खान पचाउन सुक्ष्म जीवाणु आवश्यक हुन्छ , रेसादार खान पचाउन यो ब्लकले निकै राम्रो काम गर्छ ”, वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले भन्नुभयो , “बैकल्पिक अहारको रुपमा प्रयोग गरिने यो ब्लकले दुग्धजन्य पशुमा दुधको र मासुजन्य पशुमा मासुको उत्पादकत्व वृद्धि हुन्छ ।”
वालिङ नगरपालिकाले पहिलो चरणमा बाख्रा पालक किसानलाई युएमएमबी ब्लक बनाउने तालिम प्रदान गरेको हो । युरिया मल , खुदो वा गुण , धानको ढुटो , चोकर , नुन ,पिना , खनिज आदिको मात्रा मिलाएर किसानले कम लागतमा घरमै ब्लक बनाउन सक्ने भएकोले ब्लक निर्माणमा किसानहरु आकर्षीत भएका छन् ।
हरियो घाँसको विकल्पमा स्थानीय स्रोत र साधान प्रयोग गरेर घरमै ब्लक निर्माण गर्न पाउँदा आँफूहरु निकै उत्साहित भएको वालिङ ११ स्थित दिल तारा बाख्रा फर्मका संचालन ओम प्रकास पंगेनीले बताउनुभयो ।
बाख्रापालक किसानले यो ब्लकलाई बाख्राले चाट्न सक्ने गरी फर्ममा झुण्ड्याएर राख्ने गर्दछन् । पशुहरूमा प्रोटिन तथा खनिज लवणहरूको कमीलाई हटाउन सस्तो र सरल उपाय रहेको विज्ञहरुको बुझाई छ । यसको प्रयोगले पशुको पाचन प्रणालीमा खान पचाउन सुक्ष्म जीवाणु पैदा गर्ने कारण पशुको वृद्धि विकास राम्रो हुने पशु प्राविधिक डोलराज गैह्रेको भनाई छ । सुख्खा समयमा यसको प्रयोग गर्नाले २१ देखि २५ प्रतिशत सम्म उत्पादकत्व वृद्धि हुने गैह्रे बताउनुहुन्छ ।
कृषि पेशामा युवाहरुलाई आकर्षित गर्न वालिङ नगरपालिकाले विना धितो लगानी , खसी बोकाको बजारीकरणमा ग्यारेण्टी र प्राविधिक तालिम प्रदान गर्दै आएको छ । किसान लक्षित कार्यक्रमको कारण अहिले ४८ वटा फर्महरु नगरपालिकामा सुचीकृत भएर व्यवसायीक बाख्रा पालन गर्दै आएका छन् ।

https://www.facebook.com/share/v/1XRTPheZms/

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.