जनताको रगतको मसीले लेखेर ल्याएको गणतन्त्र ख्याल ठट्टा होईन : पूर्व मुख्यमन्त्री अधिकारी
आलमदेवी कुलपूजा गर्न आउनेले गोत्र बिर्से : गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री खगराज अधिकारी

सुशील सुवेदी
स्याङ्जा , चैत्र १८
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री खगराज अधिकारीले जनताको रगतको मसीले लेखेर ल्याएको गणतन्त्र माथि ख्याल ठट्टा हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी स्याङजाले वालिङमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै अधिकारीले गणतन्त्रको पहरेदार बनेका जनता राजतन्त्रको समर्थक हुन नसक्ने बताउनुभएको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै स्याङ्जाको आलदेबीमा कुल पूजा गर्न आउनेले गोत्र बिर्सेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मिडिया हाउस र पत्रकारलाई आक्रमण गर्ने , गुहार माग्दा माग्दै जिउँदै जलाउनेहरूले एकछिन सत्ता चलाए भने के होला ?”
शान्तिपूर्ण आन्दोलनको नाममा शुक्रबार राजधानीमा भएको पत्रकार सुरेश रजकको हत्याको विषयलाई लिएर अधिकारीले भन्नुभयो नारायणहिटी दरबारमा वंश विनाश गरेर रगतको अहालमा टेकेर नक्कली राजा बनेकाहरूले पत्रकारको हत्या गरेको अधिकारीको आरोप छ ।
राजा आउ देश बचाउ भन्नेहरु मूर्ख भएको बताउँदै अधिकारीले भन्नुभयो ,“आफ्नो दरबार र वंशको रक्षा गर्न नसक्नेले देश र जनताको रक्षा गर्छन् भन्नेहरु मूर्ख हुन् । उनीहरु प्रति धिक्कार छ ।
सत्तामा जानको लागि माओवादीले पनि विगत भुल्न नहुने उहाँको धारणा छ । हिजो माओवादीका नेतालाई छानी छानी मार्ने यही राजतन्त्र भएको बताउँदै विगत स्मरण गर्न उहाँले आग्रह गर्नुभयो ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाको आयोजना तथा वालिङ नगर कमिटीको व्यवस्थापनमा वालिङ , भकुण्डे , भुम्रे ,त्रियासी , रामबाच्छा लगायतको स्थानमा मोटरसाइकल र्याली सहित बजार परिक्रमा गरिएको थियो ।
एमाले स्याङजाले यो अभियानलाई पार्टीलाई सशक्त ढङ्गले अघि बढाउने अवसरको रुपमा लिएको जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रेले बताउनुभयो । पार्टीको संगठनात्मक संरचना बलियो बनाउँदै जनतामाझ स्पष्ट एजेण्डा लैजाने अवसरको रुपमा यो अभियान सम्पन्न भएको गैह्रेले बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको समर्थनमा नारा लगाउँदै र्याली सम्पन्न गरेर वालिङ १० भकुण्डे सभा आयोजना गरिएको वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । प्रतिगमनका विरुद्ध जनतालाई सन्देश दिने गरी कार्यक्रम सम्पन्न भएको पौडेलको भनाई छ ।
जागरण सभामा स्याङजा जिल्लाको ११ वटै स्थानीय तहका नेता कार्यकर्ता र जनवर्गीय संगठनका नेताको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्