खस्यौलीको बैकल्पिक बजार : बाह्रविसे बजार
“पैसा भए अहिले त घरघरमै सामान आउँछ , उ बेलामा मिठाई खान बाह्रविसे बजार कुर्नुपथ्र्यो ”, गैह्रेले बताउनुभयो ।
खस्यौलीको बैकल्पिक बजार : बाह्रविसे बजार

“पैसा भए अहिले त घरघरमै सामान आउँछ , उ बेलामा मिठाई खान बाह्रविसे बजार कुर्नुपथ्र्यो ”, गैह्रेले बताउनुभयो ।
सुशील सुवेदी
स्याङ्जा , चैत २५
सिद्धार्थ राजमार्ग बन्नु पूर्व पहाडी क्षेत्रको प्रमुख बजार खस्यौली थियो । नुन—तेल गर्न एक महिना अघि योजना बनाएर खस्यौली झर्नुपर्ने बाध्यता थियो ।
पुराना पिडीहरुले यस्तो बजारको विकल्पमा स्थानीय उत्पादन प्रर्दशनी गर्न विभिन्न अवसरमा मेला तथा बजारको आयोजना गर्दथे । त्यो बेलामा स्याङ्जाको बाह्रविसे बजार निकै प्रख्यात थियो । नुन किन्न खस्यौली नै जानुपर्ने भएपनि माटाका भाँडा र गुण किन्न यही बजारमा पाइने भएकोले टाढा टाढाबाट आउने मानिसहरुले बाह्रविसे भिडभाड लाग्ने गर्दथ्यो ।
वालिङ नगरपालिकाको ९ नं र १३ नं को सिमानामा रहेको भट्टे चौरमा चैते दसैंमा राम नवमीको अघिल्लै दिनदेखि लालटिन बालेर व्यापारी आउने गरेको स्मरण गर्नुहुन्छ ८३ वर्षिय टंकनाथ गैह्रे (शास्त्री) ।
“पैसा भए अहिले त घरघरमै सामान आउँछ , उ बेलामा मिठाई खान बाह्रविसे बजार कुर्नुपथ्र्यो ”, गैह्रेले बताउनुभयो ।
सिद्धार्थ राजमार्ग निर्माण भएसँगै गाउँ गाउँमा बजार खुल्न थाले । खच्चड बोक्ने खाद्यान्न गाडीले बोक्न थालेपछि बाह्रविसे बजार एकादेशको कथा बन्यो । अहिले पुरानो संस्कृती र जिजु बाजेको संघर्षलाई स्थापित गर्न यहाँका युवाहरु यसको संरक्षणमा जुटेका छन् ।
“लोपोन्मुख अवस्थामा पुगेको बजारलाई पुरानै तरिकाले प्रदर्शनी गर्ने गरी प्रत्येक वर्षको राम नवमीमा बाह्रविसे बजारलाई संस्कृतिको रुपमा संरक्षण गर्दै छौँ ।” बाह्रविसे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गौतमले बताउनुभयो ।
आइतबार आयोजना गरिएको बाह्रविसे बजार तथा सास्कृतिक कार्यक्रममा पनि ५० ∕ ६० बर्ष पहिले ग्राहकको रोजाइमा पर्ने बस्तुहरूलाई प्राथमिकता दिइएको थियो ।
“उ बेलामा गुण , कालो उखु , डोको , माटोको भाँडा लगाएतका सामाग्री बेच्ने गरिन्थ्यो अरे त्यही सुनेर यस्तै बस्तुहरु प्रदर्शनीमा राखिएका छन् । ”समितिका अध्यक्ष अर्जुन गौतमले जानकारी दिनुभयो ।
बाँसको लिङ्गो चढेर कुखुराको भाले छोप्ने प्रतियोगिता , विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीले भट्टे चौर मैदानमा हजारौँ दर्शक मन जितेको थियो ।
यस्ता पुराना कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा स्थानीय सरकारले पनि सहयोग गर्ने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
अहिले हाम्रा गाउँघर शहर बनिसकेका छन् , बजार अत्याधुनिक बनेको छ भने अनलाईन सपिङले घरमै सामान त आउँछ तर एकै ठाउँका मानिसहरुमा आत्मीयता हराइसकेको छ ।
बाह्रविसे बजारले पुरानो बजार मात्र संरक्षण गरेका छैन स्थानीयहरु वीचको भाइचारा र सम्बन्ध सुमधुर बढाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्