ओझेलमा परेको ‘हुँगीघाट’ ५० वर्ष पछि संरक्षण हुँदै
न त सवारी साधनको पहुँच थियो न त सुविधा — मानिसहरु आफ्ना आफन्तको अन्तिम यात्रा लास बोकेर हुँगीघाट पुर्याउने चलन थियो ।
ओझेलमा परेको ‘हुँगीघाट’ ५० वर्ष पछि संरक्षण हुँदै

सुशील सुवेदी
स्याङजा, वैशाख २
३० सालको दशक सम्म स्याङ्जा, पाल्पा र पर्वतका मानिसहरुले दाहसंस्कार गर्ने स्थल थियो ‘हुँगीघाट’ । लास बोकेर लैजाँदा बाटोमा रात पर्ने भएकोले विचविचमा पौवा निर्माण गर्ने चलन थियो ।
न त सवारी साधनको पहुँच थियो न त सुविधा — मानिसहरु आफ्ना आफन्तको अन्तिम यात्रा लास बोकेर हुँगीघाट पुर्याउने चलन थियो ।
सडक र सवारी साधनको पहुँच सँगै बाटोका पौवा र हुँगीघाटको परम्परा ओझेलमा पर्न थालेको ५० वर्ष भयो ।
झण्डै ५० वर्षपछि त्यही ठाउँलाई धार्मिक तथा पर्यटकिय क्षेत्र घोषणा गरिएको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले कालीगण्डकीको सभ्यता संरक्षण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
नयाँ वर्षको सङ्क्रान्तिको अवसरमा हुँगीघाटमा आयोजित हुँगीघाट धार्मिक पर्यटकीय क्षेत्रको घोषणा गर्दै मन्त्री बस्यालले यस क्षेत्र देवभूमि भएको बताउँदै भारत देखिको धार्मिक पर्यटकको गन्तब्य बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
सोही अवसरमा शुभ यात्रा नेपालले जिर्णोद्धार गरेको एक पौवाको पनि मन्त्री बस्यालले उद्घाटन गर्नुभएको छ । हिजो मलामीहरूले अश्रय लिने ठाउँमा आज पर्यटकको गन्तव्य बन्दैछ यस क्षेत्रको विकासमा प्रदेश सरकार पछि हट्ने छैन मन्त्री बस्यालले बताउनुभयो ।

“हाम्रा अग्रजहरूले झण्डै ८८ वर्ष पहिले बनाएको पौवालाई संरक्षण गर्ने र यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।”, शुभ यात्रा नेपालका अध्यक्ष मधुसुदन गैह्रेले बताउनुभयो ।
आज उद्घाटन गरिएको पौवा विसं १९९३ सालमा स्व.चण्डीका प्रसाद गैह्रे सहित ५ दाजुभाईले निर्माण गनुभएको थियो । उक्त पौवा बाहिरबाट पुरानै अवस्थामा जिर्णोद्धार गरिएका भएपनि भित्र २ वटा सुविधा सम्पन्न कोठामा तातो चिसो पानी सहित भित्रै शौचालय निर्माण गरिएको उहाँको भनाई छ ।

धार्मिक पर्यटकको आकर्षण गर्न दामोदर कुण्ड—मुक्तिनाथ देखि सुस्ता सम्म सरकारले नीति निर्माण गर्नुपर्ने यहाँका सर्वसाधारण को भनाई छ ।
शुभ यात्रा नेपालले पहिलो चरणमा पुराना संरचना संरक्षण गर्दै गौ पालन , आश्रम तथा कुटी निर्माण गर्ने लक्ष्य राखेको छ । धार्मिक पर्यटकको चाहना अनुसार मुक्तिनाथ देखि सुस्ता सम्मको १९ स्थानमा धार्मिक पुस्तकालय ,ध्यान केन्द्र , आश्रम तथा कुटी निर्माण गरीने शुभ यात्रा नेपालका केन्द्रीय सदस्य श्रवण कुमार ढुङ्गानाले बताउनुभयो ।
प्रदेश सरकारसँग समन्वय गरेर यस क्षेत्रमा व्यवस्थित घाट निर्माण गरेर पुरानो परम्पराको संरक्षण गरिने गल्याङ नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्