कार्यकक्षमा नै असुरक्षित नगरप्रमुख : पुतलीबजारका मेयरमाथि आक्रमणको प्रयास
प्रे.दै संवाददाता,स्याङजा

पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई आफ्नै कार्यकर्ताले मेयरकै कार्यकक्षमा आक्रमणको प्रयास गरेका छन् । पुतलीबजार नगरपालिका १ का नेपाली कांग्रेसका कार्यकर्ता अशोक भट्टले कठालोमा समातेर आक्रमणको प्रयास गरिएको थियो ।
निर्माण व्यवसायी समेत रहनुभएका कांग्रेस कार्यकर्ता अशोक भट्टले पालिका भित्र आफुले पनि निर्माण सम्बन्धी काम माग गर्दा नपाएको कारण शुक्रबार विवाद भएको एक स्रोतले जानकारी दिएको हो । यति मात्रै नभएर पार्टी सदस्यताको नवीकरणका विषयमा पनि भनाभन भएको स्रोतको दाबी छ ।
यसबारे बुझ्न खोज्दा नगरप्रमुख तुलसीराम रेग्मीले केही पनि बताउन चाहानुभएन । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले आफुलाई मुल कारण जानकारी नभएको बताउनुभयो । नगरप्रमुख रेग्मीले आफुलाई आक्रमणको प्रयास भएको बताएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।
आक्रमणको प्रयास गरेका अशोक भट्ट हाल मोबाईल अफ गरेर फरार रहेको बुझिएको छ । प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक शालिग्राम शर्माले सामान्य बिवाद भएको जानकारी आएको बताउनुभयो । उजुरी प्राप्त पश्चात आवश्यक कारबाही अगाडी बढाइने शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्