सामुदायिक विद्यालयका फुर्सदिलो विद्यार्थीलाई साहित्यिक पुस्तक वितरण
सुशिल सुवेदी
स्याङजा , बैशाख १७

चैत २० गते देखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु शिक्षा ऐन पारित गर्ने माग राखेर आन्दोलनरत छन् । यसले सामुदायिक विद्यालयको भर्ना अभियान स्थगित मात्र भएको छैन विद्यार्थीहरु को अध्ययन समेत प्रभावित बनेको छ ।
नियमित कक्षा संचालन हुन नसकेपछि फुर्सदिलो बनेका विद्यार्थीलाई लक्षित गर्दै साहित्यिक पुस्तक वितरण गरिएको छ । सामाजिक विकास कार्यालय स्याङजाले जिल्लाको ३ स्थानीय तहका एक सय विद्यार्थीलाई कथा , कविता र उपन्यासको पुस्तक वितरण गरेको हो ।
सामाजिक विकास कार्यालयले नुरी इस्लामिया मदर्शाको ४० विद्यार्थी , गल्याङ नगरपालिका स्थित राधाकृष्ण आधारभूत विद्यालयको ३० विद्यार्थी र कालीगण्डकी गाउँपालिकाको किपट आधारभुत विद्यालयको ३० विद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।
“विद्यार्थीको समय उपयोगी बनाउने उदेश्यले साहित्यिक सामाग्री वितरण गरिएको हो । यसले उनीहरुमा पढ्ने बानीको विकास गर्नेछ र सिर्जनशीलता बढाउने अपेक्षा गरिएको छ । ” सामाजिक विकास कार्यालय स्याङजाका प्रमुख जिवन पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुहुन्छ , “शिक्षक आन्दोलनको कारण विद्यार्थीहरु कक्षा कोठा बाहिर छन् । उनीहरुको समयलाई सिर्जनात्मक बनाउँदै अध्ययनप्रति अभिरुचि जगाउन हामिले यो पुस्तक वितरण गरेका हौँ । ”
नयाँ शैक्षिक सत्रको नयाँ पुस्तक अध्ययन गर्न नपाए आफूहरु अध्ययनबाट बञ्चित हुन नपरेको मेहेरिन खानको भनाई छ । खान भन्नुहुन्छ “फुर्सदको समय बाल साहित्य , कथा संग्रह र प्रेरणादायी पुस्तक पढेर समय सदुपयोग गर्ने अवसर मिल्यो । ”
राजधानीमा जारी शिक्षकहरुको आन्दोलनले स्याङजा जिल्लाको ४५३ सामुदायिक विद्यालयका ३६ हजार ३ सय २५ विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्