घुमन्ते व्यापारीलाई नियमन गर्न वालिङका व्यवसायीले बुझाए ध्यानाकर्षण पत्र
प्रे.दै समाचारदाता
वालिङ, साउन ५
वालिङ क्षेत्रमा सञ्चालनमा रहेका अनाधिकृत तथा दर्ता नभएका घुमन्ते व्यवसायलाई नियमन गर्न, बजार क्षेत्रलाई सुरक्षित बनाउन र समग्र व्यवसाय प्रवर्द्धनका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ।
सोमबार वालिङका फेन्सी तथा कपडा व्यवसायीहरू सहित अन्य व्यवसायीहरूको संयुक्त हस्ताक्षरमा तयार पारिएको ध्यानाकर्षण पत्र वालिङ नगरपालिका, उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्स वालिङलाई बुझाइएको हो।
ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा सि.सि. क्यामेरा जडान गरेर सुरक्षा व्यवस्था सुदृढ गर्न, व्यवसाय प्रवर्द्धनका लागि यथोचित कार्यक्रम सञ्चालन गर्न, घर भाडादरमा वैज्ञानिक तथा यथोचित मापदण्ड लागू गर्न माग गरिएको छ। साथै, वालिङ क्षेत्रलाई व्यवस्थित व्यावसायिक केन्द्रका रूपमा विकास गर्न आवश्यक नीति र कार्यक्रम अवलम्बन गर्न जोड दिइएको छ।
व्यवसायीहरूले ध्यानाकर्षण पत्रमार्फत सहरको आर्थिक विकासमा व्यवसाय क्षेत्रको योगदान उल्लेख गर्दै, व्यवसायमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।





प्रतिक्रिया राख्नुहोस्