पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, ७४ युनिट रगत संकलन
प्रे.दै समाचारदाता
साउन ०७
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङजा शाखाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गल्याङ ३ स्थित मगर समाजको हलमा आयोजित रक्तदान कार्यक्रमबाट ७४ युनिट रगत संकलन भएको छ । जिल्ला रेडक्रस सोसाइटी स्याङजाको प्राविधिक सहयोगमा संकलन भएको रगत ब्लड वैंक स्याङजामा भण्डारण गरिने राष्ट्रिय युवा संघ नेपाल स्याङजाका कार्यवहाक अध्यक्ष राजन पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव महेश चौलागाईले स्व. पुष्पलाल श्रेष्ठको विचार , योगदान र आजको समयअनुसार युवाको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।

युवा संघ स्याङजाले समाजमा सकारात्मक उर्जा प्रवाह गरेको बताउँदै महासचिव चौलागाईले भन्नुभयो , ‘पुष्पलाललाई भाषण र व्यानरमा मात्र सिमित नगरी व्यवहारमा उतार्न सके मात्र साँचो श्रद्धाञ्जली हुन्छ । युवाहरु समानता , न्याय र सेवाको मार्गमा लाग्न सके त्यो नै पुष्पलालको सपना साकार पार्ने यात्रा हुनेछ । ’
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल निर्वाचन आयोगका अध्यक्ष मदन गिरी , नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य चक्र ब. पराजुली , प्रदेश सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी , जिल्ला अध्यक्ष सूर्य प्रसाद गैरे(पारस) राष्ट्रिय युवा संघ गल्याङ नगर कमिटीका अध्यक्ष नेत्र राना लगायतले बोल्नुभएको थियो ।
पुष्पलालको जीवनी :
नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ वि.सं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसी कुमारी को कोखबाट जन्म भएको थियो । मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिकहुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ’कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधान (नेकपा (एमाले)की वर्तमान नेतृ) सँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गर्नुभयो।
२०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो।
नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा–गराउँदै निधन भयो।
प्रतिक्रिया राख्नुहोस्