वालिङका तरकारी किसानलाई केजीमा ५ रुपैयाँ प्रोत्साहन अनुदान

कृषि क्षेत्रमा वालिङ लाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै नगर उपप्रमुख कविता तिवारी (गैरे) भन्नुहुन्छ ,‘ किसानलाई प्रोत्साहन गर्न विना ब्याज बीउ पूँजी लगानी , प्रोत्साहन अनुदान लगाएतका कार्यक्रम संचालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ । ’

सुशील सुवेदी
वालिङ,साउन १४ 

वालिङ नगरपालिकाले स्थानीय स्तरमा तरकारी उत्पादन बढाउन र किसानलाई उत्साहित बनाउन तरकारी खेती गर्ने किसानलाई केजीको आधारमा नगद प्रोत्साहन अनुदान प्रदान गरेको छ ।
नगरपालिकाको ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी (गैरे)ले बताउनुभयो ।
कृषि क्षेत्रमा वालिङ लाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्नुहुन्छ ,‘ किसानलाई प्रोत्साहन गर्न विना ब्याज बीउ पूँजी लगानी , प्रोत्साहन अनुदान लगाएतका कार्यक्रम संचालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ । ’
‘गत आवमा स्थानीय किसानले उत्पादन गरेको तरकारीको बिक्री तथ्यांकको आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको हो । यसले उत्पादनमा हौसला मिल्नुका साथै बजारको सुनिश्चिततामा पनि सहयोग पुग्नेछ ।’ वालिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।
जिल्लाको अग्रणी तरकारी संकलन तथा बजारीकरण गर्दै आएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था मार्फत १२७ जना किसानलाई ५ रुपैयाँका दरले ६ लाख ६८ हजार रुपैयाँ अनुदान वितरण गरिएको सुवेदीको भनाई छ ।
यस्तै न्युनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी लगाएका किसानलाई प्रति रोपनी कुल उत्पादन लागतको २० प्रतिशत सम्म प्रोत्साहन अनुदान प्रदान गरिएको कृषि शाखा प्रमुख सुभाष चन्द« अर्यालले बताउनुभयो ।
वालिङ नगरपालिकामा यो कार्यक्रम लागू भएसँगै वालिङ नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ ।
६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ ।
४० वर्ष यता कै ठूलो परिमाणमा तरकारी आएको सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले बताउनुभयो । वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रम बापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ प्राप्त गरेको अर्यालको भनाई छ ।
यस कार्यक्रमबाट वालिङ क्षेत्रका दर्जनौं तरकारी किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.