पानीको स्रोत जोगाउन स्थानीयको चासो

सुशील सुवेदी
पुतलीबजार , साउन २६

गाउँघरका घर रित्तै भएपछि मुल, पँधेरा र कुवा सुक्न थालेका छन् । संरक्षणको अभावमा हराउँदै गएका यी पारम्परिक पानी स्रोतहरूलाई पुनर्जीवन दिन अहिले वालिङका स्थानीय बासिन्दा आफैं सक्रिय हुन थालेका छन् ।

पानी संकटले गाउँहरूमा चिन्ता बढाइरहँदा, नेपाल पानी सदुपयोग फाउन्डेसनले वालिङ नगरपालिकामा पानी स्रोत संरक्षण र जलवायु अनुकूलनका लागि सञ्चालन गरिरहेको अभियान प्रभावकारी बन्दै गएको छ ।
संस्थाले जनचेतना अभिवृद्धि, पुनर्भरण प्रविधि र समुदायमै आधारित असल अभ्यास प्रदर्शन कार्यक्रम मार्फत स्थानीयहरुलाई आफ्नै स्रोत संरक्षणमा लाग्न प्रेरित गरिरहेको छ ।

नेपाल पानी सदुपयोग फाउन्डेसनको असल अभ्यास प्रदर्शन कार्यक्रम अन्तर्गत, वालिङ–११ बाहुनथानस्थित लालीगुराँस टोलका बासिन्दाहरूले आफ्नै पहलमा ‘रिचार्ज पोखरी’ निर्माण गरेका छन् ।

वालिङ–११ बाहुनथानस्थित लालीगुराँस टोलका बासिन्दाहरूले निर्माण गरेको ‘रिचार्ज पोखरी’ ।

यस पोखरीमार्फत वर्षातको पानी संकलन गरी भूमिगत जल पुनर्भरण गरिन्छ । “यसले स्थानीय खेतीपाती, घरायसी प्रयोग र स्वरोजगारमै ठोस योगदान दिएको छ,” टोलका संयोजक छविलाल परियार बताउनुहुन्छ ।

“यस्तो संरचना बनाउँदा वर्षातको पानी खेर जानुको सट्टा भूमिगत जलस्तर बढाउन प्रयोग हुन्छ, जसले गर्दा सुक्न थालिसकेका पुराना मुल, पँधेरा र कुवामा पुनः पानी आउन थाल्छ,” परियारको भनाई छ ।

फाउन्डेसनले विगत एक वर्षको अवधिमा पुनर्भरण प्रविधि, जनचेतनामूलक कार्यक्रम र प्रारम्भिक अध्ययनका माध्यमबाट उल्लेखनीय उपलब्धिहरू हासिल गरेको नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष ङमीन्द« दहालले बताउनुभयो । “हिजो गाउँका मुलहरू प्रयोग र संरक्षण हुन्थे , गाउँबाट तल्लो भेगको बजारमा पानी आउँथ्यो , अहिले ति मुलहरू प्रयोग विहीन भएका छन् । तल्लो भूभागबाट लिफ्टिङ गरेर पानी गाउँतिर लानुपर्ने बाध्यता छ ,” दहालले बताउनुभयो ।

जनचेतनामुलक कार्यक्रमले स्थानीयहरुमा पानीको मुल जोगाउने , संरक्षण गर्ने र पानीको पुनर्भरण गर्ने अभियान संचालन हुन थालेको दहालको भनाई छ ।
पानी संरक्षणको यस्ता अभ्यासलाई दीर्घकालीन बनाउने हो भने, स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको छ ।

नेपाल पानी सदुपयोग फाउन्डेसनले यस्ता अभ्यासलाई अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ । वालिङ–१३, १४, ११, र ६ नम्बर वडामा प्रारम्भिक अध्ययन तथा अभ्यास प्रदर्शन भइसकेको छ ।

वालिङमा संचालन भएको पानी स्रोत संरक्षण अभियानले समुदायको पहल र संस्थागत समन्वयको उदाहरण प्रस्तुत गरेको छ । विशेष गरी रिचार्ज पोखरीहरूको निर्माण, व्यापक जनचेतना कार्यक्रम, र स्थानीय तहमा अभ्यास प्रदर्शनले दीर्घकालीन रूपमा जलाधार र प्रकृति संरक्षणमा योगदान पुर्याएको छ । यस किसिमको कार्यक्रमलाई केवल प्रतीक्षित होइन, तर विस्तार गर्न सबै सरोकारवाला—सरकार, संस्था र समुदायहरू—सक्रिय हुनुपर्ने आवश्यक रहेको सरोकारवालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.