जडिबुटी उत्पादन र बजार व्यवस्थापन अध्ययन गर्न वालिङको टोली हरिद्वार प्रस्थान
सुशील सुवेदी
स्याङजा, १४ भदौ

मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरणसम्बन्धी अध्ययन गर्न स्याङ्जाको वालिङ नगरपालिकाबाट ५५ सदस्यीय टोली भारतको हरिद्वार प्रस्थान गरेको छ।
टोलीले हरिद्वारस्थित पतञ्जली योगपीठमा पाँच दिनसम्म रहँदै जडिबुटी पहिचान, प्रवर्द्धन तथा बजार व्यवस्थापनका अभ्यासबारे प्रत्यक्ष अध्ययन र अनुभव आदान–प्रदान गर्नेछ।
सामुदायिक तथा निजी वनमा रहेका तर पहिचान नभएका र खेर गइरहेका जडिबुटीको प्रवर्द्धन, संरक्षण र बजारीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित यो भ्रमण आयोजना गरिएको नगरउपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो ।
उपप्रमुख तिवारीका अनुसार बालकृष्णकै पैतृक थलो स्याङ्जामा जडिबुटी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने प्रबल सम्भावना छ। “वालिङले बालकृष्णको योगदान र अनुभवलाई जोडेर जडिबुटी क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सक्छ,” उहाँले भन्नुभयो।
यस अध्ययन भ्रमणमा जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्राविधिक, संचारकर्मी र जडिबुटी व्यवसायमा रुचि राख्ने सरोकारवालासहित ५५ जनाको टोली सहभागी छन् । टोलीले भारतमा सफलतापूर्वक सञ्चालनमा रहेका जडिबुटी उत्पादन उद्योग, प्रशोधन केन्द्र र बजार व्यवस्थापन प्रणाली प्रत्यक्ष अवलोकन गर्नेछ।
नगरपालिकाले यस भ्रमणलाई दीर्घकालीन योजना निर्माणको आधार बनाउन चाहेको जनाएको छ।
डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत रूकमागत सुवेदीले यस भ्रमणलाई अत्यन्तै महत्व दिएको बताउनुभयो। उहाँका अनुसार, स्याङ्जा जिल्लामा जडिबुटीको अपार सम्भावना भए पनि तिनीहरूको दिगो उपयोग र बजार अभावकै कारण किसानले लाभ लिन सकेका छैनन्।
ग
उहाँले भन्नुभयो ,“स्याङ्जा जिल्लामा अमला, हर्रो, बहर्रो, कुचिला, तेजपातदेखि लिएर टिमुर, बोझो, जटामसीजस्ता औषधीय गुण भएका दर्जनौँ जडिबुटी पाइन्छन्। तर तिनीहरू वैज्ञानिक ढंगले संकलन हुने गरेका छैनन्। कतिपय वनस्पति खेर गइरहेका छन्। अध्ययन भ्रमणमार्फत हामीले भारतमा प्रचलित प्रविधि, प्रशोधन विधि र बजार सञ्जालबारे जानकारी लिई नेपालमा लागू गर्ने प्रयास गर्नेछौँ।”
वन अधिकृत सुवेदीले थप्नुभयो ,“यदि हामीले यहाँको सामुदायिक वनलाई जडिबुटी उत्पादन र प्रशोधन केन्द्रमा रूपान्तरण गर्न सक्यौँ भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ। युवा रोजगारीको अवसर सिर्जना हुन्छ र विदेशी आयातमा निर्भरता पनि कम हुन्छ।”
हरिद्वार प्रस्थान गरेको वालिङको ५५ सदस्यीय टोलीले ल्याउने अनुभव र ज्ञानले स्याङ्जाको जडिबुटी क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ। आचार्य बालकृष्णको पैतृक थलो वालिङलाई आधार बनाउँदै आयुर्वेदिक उद्योग, अनुसन्धान र बजार विस्तारमा जोड दिन सकिने विश्वास नगरपालिकाको छ ।
यस अध्ययन भ्रमण सफल भएमा स्थानीय सामुदायिक वन, किसान र उद्यमीलाई प्रत्यक्ष फाइदा पुग्नेछ भने नेपालकै आयुर्वेदिक उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्ने सम्भावना पनि बढ्नेछ।
प्रतिक्रिया राख्नुहोस्