वालिङ नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न, २० प्रतिशत बजेट खर्च
प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले “वालिङको रहर, गुलाबी सहर” भन्ने मूल नाराका साथ स्मार्ट नगरको अवधारणालाई व्यवहारमा उतार्दै नगर अघि बढिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र त्यसले समाजमा भ्रम फैलाउने प्रवृत्ति हाबी भएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
सुशील सुवेदी
स्याङजा ,पुष ४
वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वालिङ नगरपालिका–८ स्थित सिटी हलमा बिहीबार सम्पन्न गरेको छ । नगरपालिकाको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाको पहिलो चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सुवेदीले “वालिङको रहर, गुलाबी सहर” भन्ने मूल नाराका साथ स्मार्ट नगरको अवधारणालाई व्यवहारमा उतार्दै नगर अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि नगरपालिकाले एक अर्ब नौ लाख अठार हजार रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएकोमा पहिलो चौमासिक अवधिमा करिब २० प्रतिशत बजेट खर्च भइसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले चालु आर्थिक वर्षमा नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । जिल्लामै पहिलो पटक सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले यसले नगरको व्यवस्थित यातायात व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, नगरका प्रत्येक वडामा कम्तीमा दुई वटा ठूला सडकलाई नगरपालिकाकै स्रोत–साधन प्रयोग गरी ग्राभेल गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तूत गर्दै प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी
स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै नगरपालिकाले गर्भवती महिलाका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गरेको, उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्ने कार्यक्रम अघि बढाएको र रसायनसहितको अत्याधुनिक दमकल प्राप्त भएको विषयलाई पनि सुवेदीले चालु आर्थिक वर्षका उल्लेखनीय उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । यी कार्यक्रमहरूले शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन क्षेत्रमा नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारण तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नगरपालिकासँग आफ्ना सुझाव, गुनासा तथा अपेक्षाहरू राखेका थिए । अधिकांश सहभागीहरूले वालिङ नगरभित्र सुविधा सम्पन्न अस्पतालको आवश्यकता औंल्याउँदै स्वास्थ्य सेवामा अझ सुधार गर्नुपर्ने धारणा राखे । यस्तै, पछिल्लो समय बढ्दै गएको बाँदर समस्याले कृषि उत्पादन र जनजीवनमा असर पारेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न माग गरिएको थियो ।
बजार क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल नापीको आवश्यकता रहेको, सडक मापदण्डबारे स्पष्ट नीति आवश्यक भएको तथा सडक बत्ती जडानलाई प्राथमिकता दिनुपर्ने विषयमा पनि सहभागीहरूले जोड दिएका थिए । विकास निर्माणका कामलाई अझ प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने मागसमेत सार्वजनिक सुनुवाईमा उठाइएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र त्यसले समाजमा भ्रम फैलाउने प्रवृत्ति हाबी भएकोप्रति चिन्ता व्यक्त गरेका थिए । उनीहरूले तथ्यहीन सूचना र भ्रामक प्रचारले स्थानीय सरकारको कामप्रति नकारात्मक धारणा बनाउने खतरा रहेको भन्दै नगरपालिकाले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।



सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद पाण्डे, नेकपा एमालेका नगर कमिटी अध्यक्ष शोभकान्त पौडेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष युक्त प्रसाद तिवारीले आ–आफ्ना धारणा राख्दै स्थानीय सरकारलाई रचनात्मक सुझाव दिएका थिए । उनीहरूले विकास निर्माणका काममा पारदर्शिता, समन्वय र नागरिक सहभागितालाई अझ बलियो बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख तथा सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष कृष्ण खाँणले सीमित स्रोत र साधनका कारण नगरवासीका सबै सपना एकैचोटि पूरा गर्न नसकिएको स्वीकार गर्नुभयो । तथापि, उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्दै आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ थियो । नगरभित्र भइरहेका उल्लेखनीय कार्यको जानकारी नागरिकलाई गराउने उद्देश्यले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो ।
नगरप्रमुख खाँणले नागरिकको सुझाव र गुनासोलाई गम्भीर रूपमा लिँदै आगामी योजनामा समेट्ने बताउनुभयो । उहाँले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउन, विश्वास अभिवृद्धि गर्न तथा सुशासन कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमको सहजिकरण वालिङ टेलिभिजन र प्रेसदैनिक डट कमले संयुक्त रूपमा गरेको थियो । पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक शासन प्रणालीलाई संस्थागत गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।



प्रतिक्रिया राख्नुहोस्