वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सुशील सुवेदी
स्याङजा , पुष ९
वालिङ नगरपालिकाको आयोजनामा विद्यालयस्तरका विद्यार्थीहरूको खेलकुद प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यसहित दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि वालिङ खेल मैदानमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका २९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले वालिङ नगरको समग्र विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विकासलाई साझा जिम्मेवारीका रूपमा लिनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेदका बाबजुद नगरको हितका विषयमा सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
वालिङलाई सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको उल्लेख गर्दै तिवारीले राजनीतिक दल जनताका शासक नभई सेवक हुनुपर्ने धारणा राख्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको पद्धति सही रहेको र केही व्यक्तिका कमजोरीका कारण समग्र व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने उहाँको भनाइ थियो । विधि ठीक भएकाले जनताले प्रणालीमाथि औँला नउठाई सकारात्मक भूमिका खेल्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।
सिद्धार्थ राजमार्गसँग सम्बन्धित समस्या स्याङ्जाका जनताले सबैभन्दा बढी भोग्दै आएको उल्लेख गर्दै उहाँले यस्ता ठूला विकास निर्माणका काममा सबै राजनीतिक दल, सरोकारवाला निकाय र जनप्रतिनिधिहरू एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयस्तरबाटै खेलकुद संस्कृतिको विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले खेल पूर्वाधार विस्तार, नियमित प्रतियोगिता सञ्चालन र प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट मेघराज गैरे र सामुदायिक विद्यालयको तर्फबाट यामबहादुर कुँवरले शुभकामना मन्तव्य राख्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको बताएका थिए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबल गरी तीन विधाका खेलहरू समावेश छन् । प्रतियोगितामा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.