‘आमाको दूध शिशुको पहिलो अधिकार’ : स्तनपान ऐन उल्लङ्घनमा कडा कारबाही हुने
सुशील सुवेदी
वालिङ,माघ ०९ गते
आमाको दूध शिशुको जन्मसिद्ध अधिकार भएको स्पष्ट गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण नियन्त्रण) ऐन कडाइका साथ लागू गरिने भएको छ। स्तनपानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायको भूमिकामा कुनै सम्झौता नहुने भन्दै ऐन उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।
वालिङ नगरपालिका र प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जा (गण्डकी प्रदेश)को सहकार्यमा आयोजित स्तनपानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रदेश तथा स्थानीय तहका अधिकारीहरूले ऐन कार्यान्वयन अब कडाइका साथ अघि बढाइने स्पष्ट पारेका हुन्। कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको प्रचार–प्रसार, नमूना वितरण तथा उपहार आदान–प्रदानले स्तनपान कमजोर बनाइरहेको निष्कर्ष निकालिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले ऐन उल्लङ्घन सह्य नहुने स्पष्ट पारे। “आमाको दूध शिशुको पहिलो खोप हो,” उहाँले भन्नुभयो, “यसको विकल्पको प्रचार गर्नु कानुन विपरीत हो र यसले शिशु स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ।” उहाँले स्तनपानलाई कमजोर बनाउने प्रत्यक्ष वा अप्रत्यक्ष गतिविधि गरे कारबाही अनिवार्य हुने चेतावनी दिनुभयो।
वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले स्वास्थ्यकर्मीका लागि ऐनले स्पष्ट सीमा तोकेको बताए। “स्वास्थ्यकर्मीले स्तनपानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नैपर्छ,” उहाँले भन्नुभयो, “उत्पादक वा वितरकबाट उपहार लिनु, नमूना दिनु वा कुनै पनि प्रकारको उत्पादन प्रवर्द्धन गर्नु पूर्ण रूपमा निषेध छ।” उल्लङ्घन भेटिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो।
परिवार नियोजन अधिकृत मित्र अर्यालले स्तनपान र मातृ–शिशु स्वास्थ्यबीचको प्रत्यक्ष सम्बन्ध औंल्याउँदै स्वास्थ्यकर्मीबाटै गलत सन्देश जानु गम्भीर अपराध सरह भएको बताए। “पूर्ण स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,” उहाँले भन्नुभयो, “यसमा लापरवाही गर्दा कुपोषण र संक्रमणको जोखिम बढ्छ।”
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण नियन्त्रण) ऐनको दफा ८ अनुसार स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्तामाथि लागू हुने कानुनी व्यवस्था स्पष्ट पारिएको थियो। ऐनअनुसार स्वास्थ्यकर्मीले स्तनपान रोक्ने कुनै पनि गतिविधि गर्न नपाइने, उपहार वा सुविधा लिन–दिन नपाइने, नमूना वितरण र उत्पादन प्रवर्द्धन गर्न नपाइने व्यवस्था छ। उल्लङ्घन गरे एक हजार रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ।
स्वास्थ्य विज्ञहरूका अनुसार शिशुले आमाको दूध नपाउँदा कुपोषण, झाडापखाला, निमोनिया जस्ता रोगको जोखिम बढ्नुका साथै शारीरिक र मानसिक विकासमा दीर्घकालीन असर पर्न सक्छ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्तनपान ऐनको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र कारबाही दुवै कडा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।



प्रतिक्रिया राख्नुहोस्