१४औँ हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

सुशील सुवेदी

स्याङजा , फागुन २

  1. स्याङ्जा । नेपाल अंग्रेजी भाषा शिक्षक संघ-नेल्टा, स्याङ्जा शाखाले १४औँ जिल्ला स्तरीय अन्तर–विद्यालय रनिङ शिल्ड हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता सगरमाथा अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालय, वालिङ–६ मिर्दीमा आयोजना गरिएको थियो।

जिल्लाभरका ३९ विद्यालय सहभागी भएको प्रतिस्पर्धामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय, पुतलीबजारले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानसहित रनिङ शिल्ड जितेको छ। स्याङ्जा माध्यमिक विद्यालय, पुतलीबजार द्वितीय भएको छ भने रोशनी अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालय, पुतलीबजार तृतीय स्थानमा रह्यो। ज्योति अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालय, पुतलीबजारले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ।

विजेता विद्यालयहरूलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो। गत वर्षको रनिङ शिल्ड रोशनी अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले जितेको थियो।

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले अंग्रेजी भाषा आजको विश्वव्यापी प्रतिस्पर्धाको आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “अंग्रेजी भाषाको दक्षता बिना अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिँदैन। यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ।” उहाँले स्थानीय तहले शिक्षा सुधारलाई प्राथमिकतामा राखेको र नगरभित्र शिक्षा विहीन बालबालिकाको संख्या शून्यमा झार्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो।

नेल्टा गण्डकी प्रदेश अध्यक्ष कमल लम्सालले आधुनिक शिक्षामा शिक्षकको भूमिकालाई केन्द्रमा राख्दै भन्नुभयो, “अवसर आफैं आउँदैन, शिक्षकले आफूलाई अद्यावधिक गर्नुपर्छ। नेल्टाले पेशागत विकासका कार्यक्रममार्फत शिक्षकलाई सशक्त बनाउँदै आएको छ।”

नेल्टा स्याङ्जा अध्यक्ष ओम विकास सिँजालीले भाषा शिक्षणको गुणस्तर अभिवृद्धिका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेल्टा स्याङ्जाका उपाध्यक्ष डा. तोयानाथ कोइराला, विद्यालयका प्रिन्सिपल युक्त बहादुर बोगटी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। यस अवसरमा विद्यावारिधि उपाधि हासिल गरेका डा. कोइरालालाई नेल्टा स्याङ्जा शाखाले सम्मान गरेको थियो।

अंग्रेजी भाषा शिक्षणको प्रवर्द्धन र विद्यार्थीको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जिल्लास्तरमा सकारात्मक शैक्षिक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.