आँधीखोलामा १२ हजार भुरा छाडिए : संरक्षण, पर्यटन र सभ्यता जोगाउने अभियान
आँधीखोलामा १२ हजार भुरा छाडिए : संरक्षण, पर्यटन र सभ्यता जोगाउने अभियान
लोप हुँदै स्थानीय माछा, पुनर्जीवनका लागि समुदाय–सरकारको सहकार्य
— सुशील सुवेदी
स्याङजा , २ फागुन
स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधीखोलामा १२ हजार माछाका भुरा (फिङ्गरलिङ) छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध सिकार र जलवायु परिवर्तनका कारण संकटमा परेका स्थानीय माछा प्रजातिको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
छाता संस्था नेपालले सञ्चालन गरेको ‘आँधीखोला स्कुल अफ बेम्बो टेक्नोलोजी एण्ड रिभर रेस्ट्रोरेशन’ मार्फत सहर, कत्ले, फगेटा, नागिन लगायतका स्थानीय जातका माछा खोलामा छाडिएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।
अध्यक्ष आलेका अनुसार आँधीखोलामा पाइने गोच, रजबाम लगायत आधा दर्जनभन्दा बढी माछा प्रजाति पूर्ण रूपमा लोप भइसकेका छन् । अन्य केही प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । “आँधीखोला केवल पानी बग्ने खोला होइन, यो हाम्रो सभ्यता र अस्तित्व हो,” उहाँले भन्नुभयो, “नदी सुक्दै जाँदा संस्कृति सुक्छ, पेशा हराउँछ र पहिचान मेटिन्छ । त्यसैले संरक्षण अभियान अनिवार्य भएको हो ।”
स्थानीय बासिन्दाका अनुसार विगतमा आँधीखोलामा प्रशस्त मात्रामा माछा पाइन्थ्यो । माझी समुदाय बिहान–बेलुका जाल हालेर जीविकोपार्जन गथ्र्यो । तर पछिल्ला वर्षहरूमा करेन्ट, विषादी तथा अवैध उपकरण प्रयोग गरी माछा मार्ने प्रवृत्ति बढेको छ । नदी किनारमा ढुंगा, गिट्टी र बालुवा उत्खननले पनि प्राकृतिक आवास नष्ट गरेको छ ।
जलवायु परिवर्तनका कारण पानीको बहाव र तापक्रममा आएको परिवर्तनले माछाको प्रजनन चक्रमा समेत असर परेको सरोकारवालाहरूको भनाइ छ । यी सबै कारणले गर्दा स्थानीय प्रजाति संकटमा पुगेका छन् ।
कानुनी आधार तयार गर्दै नगरपालिका
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले भुरा छाड्ने कार्य सकारात्मक सुरुवात भए पनि दीर्घकालीन संरक्षणका लागि कानुनी आधार आवश्यक रहेको बताउनुभयो । “जलचर तथा जलीय जैविक विविधता ऐन २०८२ राजपत्रमा प्रकाशन गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “कानुनमार्फत करेन्ट, विषादी वा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेलाई कडा कारबाही गरिनेछ ।”
उहाँका अनुसार आँधीखोलालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । माझी समुदायलाई निश्चित मापदण्डअनुसार जाल प्रयोग गर्न अनुमति पत्र दिने र परम्परागत पेशालाई संस्थागत रूपमा संरक्षण गर्ने रणनीति नगरपालिकाले बनाएको छ ।
अध्यक्ष आलेका अनुसार आँधीखोलामा अन्तर्राष्ट्रिय स्तरको ‘फिसिङ प्रतियोगिता’ आयोजना गर्न सकिने सम्भावना छ । असारदेखि असोजसम्म पारिवारिक राफ्टिङ सञ्चालन गर्न सकिने वातावरण तयार गर्न सकिने उहाँको भनाइ छ ।
दैनिक १२ सयभन्दा बढी भारतीय पर्यटक सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने भए पनि उनीहरूलाई आँधीखोलामा रोकेर पर्यटन गतिविधिमा जोड्न नसक्नु चुनौती बनेको उहाँले बताउनुभयो । “यदि नदीलाई सफा, सुरक्षित र आकर्षक बनाउन सकियो भने स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ,” आलेले उल्लेख गर्नुभयो ।
वालिङ–९ स्थित माझी गाउँका बासिन्दाले संरक्षण अभियानलाई सकारात्मक रूपमा लिएका छन् । माछाको अभावले उनीहरूको परम्परागत पेशा संकटमा परेको थियो । भुरा छाड्ने कार्यक्रमले भविष्यमा माछाको संख्या बढ्ने अपेक्षा उनीहरूले गरेका छन् ।
नगरपालिकाले माझी समुदायलाई नै प्राथमिकता दिई नियन्त्रित तरिकाले माछा मार्न अनुमति दिने योजना अघि सारेको छ । यसले उनीहरूको आयस्रोत सुरक्षित हुनुका साथै पर्यटकलाई स्थानीय स्वाद प्रदान गर्ने वातावरण तयार हुने विश्वास गरिएको छ ।
कार्यक्रमकै अवसरमा झण्डै एक सय विद्यार्थीलाई ‘आँधीखोला सभ्यता’, धार्मिक तथा ऐतिहासिक महत्व र जलचर संरक्षणबारे प्रशिक्षण दिइएको थियो । नयाँ पुस्तालाई नदी संरक्षणमा जोड्नु दीर्घकालीन समाधानको आधार भएको आयोजकको विश्वास छ ।
धार्मिक र ऐतिहासिक पृष्ठभूमि
आँधीखोलाको धार्मिक महत्व पनि उत्तिकै गहिरो छ । धार्मिक विश्वासअनुसार श्रवण कुमारका अन्धा आमाबुबाले पुत्र वियोगमा बगाएको आँशुबाट बनेको दह ‘अन्धाअन्धी दह’ नामले परिचित छ । सोही दहबाट बगेको पानी ‘अन्धाअन्धी खोला’ हुँदै अपभ्रंश भएर ‘आँधीखोला’ बनेको उल्लेख धार्मिक ग्रन्थहरूमा पाइन्छ ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–२ मा पर्ने अन्धाअन्धी दहबाट उत्पत्ति भएको यो खोला जिल्लाकै मिर्मीस्थित आँधीमुहानमा पुगेर समाप्त हुन्छ । जिल्लाभित्रै उत्पत्ति र समापन हुने भएकाले आँधीखोलालाई स्याङ्जाको सभ्यताको प्रतीकका रूपमा चिनिन्छ ।
विज्ञहरूका अनुसार भुरा छाड्नु सकारात्मक पहल भए पनि प्रदूषण नियन्त्रण, अवैध उत्खनन रोकथाम र कानुनी कार्यान्वयन प्रभावकारी नभएसम्म अपेक्षित परिणाम आउन गाह्रो हुन्छ । नदीको पारिस्थितिक प्रणाली जोगाउन सामुदायिक सहभागिता र नियमित अनुगमन अपरिहार्य छ ।
१२ हजार भुरा छाडिएको यो अभियानले आँधीखोलामा जीवन फर्काउने आशा जगाएको छ । संरक्षण, पर्यटन र स्थानीय अर्थतन्त्रलाई सँगसँगै जोड्ने प्रयास सफल भए आँधीखोला पुनः समृद्ध र जीवन्त नदीका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्