एमाले स्याङ्जा क्षेत्र नं. २ को संकल्प पत्र सार्वजनिक : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा

“कालीगण्डकीको शिरदेखि तिरसम्म” नारासहित कालीगण्डकीमा मिनी पानीजहाज सञ्चालनको सम्भावना र डीपीआर तयार भइसकेको एमाले क्षेत्र नं. २ का उम्मेदवार खिम बहादुर थापाले जानकारी दिनुभयो।

एमाले स्याङ्जा क्षेत्र नं. २ को संकल्प पत्र सार्वजनिक
सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा

सुशील  सुवेदी 
वालिङ , फागुन ५ गते

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले स्याङ्जा क्षेत्र नं. २ लक्षित संकल्प पत्र सार्वजनिक गरेको छ। वालिङस्थित सिटीहलमा आयोजित कार्यक्रममा पार्टीका उम्मेदवार तथा केन्द्रीय सदस्य खिम बहादुर थापाले पूर्वाधार विकास, जलस्रोत उपयोग, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

थापाले सिद्धार्थ राजमार्गको डेडिकेटेड दुई लेनसहित स्तरोन्नति पहिलो प्राथमिकता भएको बताउनुभयो। “यो राजमार्ग स्याङ्जाको आर्थिक समृद्धिको मेरुदण्ड हो। सुरक्षित र स्तरीय सडकबिना क्षेत्रीय विकास सम्भव छैन,” उहाँले भन्नुभयो। राजमार्ग स्तरोन्नतिले यातायात समय र ढुवानी खर्च घट्ने तथा लगानीको वातावरण सुधार हुने दाबी उहाँको थियो।

दोस्रो प्राथमिकतामा आँधीखोलामा जलाशययुक्त बहुउद्देश्यीय आयोजना निर्माण रहेको छ। थापाका अनुसार जलविद्युत उत्पादन, सिँचाइ विस्तार, बाढी नियन्त्रण र जलपर्यटन प्रवर्द्धनका लागि योजना अघि सारिएको हो। “आँधीखोलालाई दीर्घकालीन आर्थिक स्रोतका रूपमा विकास गर्न सकिन्छ,” उहाँले बताउनुभयो।

त्यसैगरी “कालीगण्डकीको शिरदेखि तिरसम्म” नारासहित कालीगण्डकीमा मिनी पानीजहाज सञ्चालनको सम्भावना र डीपीआर तयार भइसकेको जानकारी पनि उहाँले दिनुभयो। नदी यातायात र जलपर्यटनमार्फत पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताइएको छ।

संकल्प पत्रमा कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, उत्पादन वृद्धि, कृषिमा आधारित उद्योग स्थापना, स्थानीय उत्पादनको बजारीकरण र युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम समेटिएका छन्। साथै स्वरेक मैदान, उत्तरबाहिनीधाम लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, आँधीखोला तटबन्ध निर्माण र ग्रामीण सडक स्तरोन्नति पनि प्राथमिकतामा राखिएको छ।

दुई कार्यकाल कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रहिसकेका थापाले स्थानीय तहमा गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा एमाले सचिव तथा समानुपातिक उम्मेदवार पद्मा कुमारी अर्यालले स्थिर सरकार र स्पष्ट नीतिको आवश्यकता औंल्याउनुभयो।

आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ मा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल, एमालेका खिम बहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन्।

संकल्प पत्र सार्वजनिक भएसँगै स्याङ्जा क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ। अब फागुन २१ गतेको मतपरिणामले मतदाताले कुन विकास दृष्टिकोणलाई प्राथमिकता दिन्छन् भन्ने स्पष्ट हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.