शैक्षिक सुधारमा वालिङको पहल : पोशाकमा एकरूपता र सूचना प्रणाली सुदृढीकरण
-वालिङ, फागुन १०
वालिङ नगरपालिका को आयोजनामा संस्थागत शिक्षा व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरभित्रका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रे ले शैक्षिक सुधारलाई प्रभावकारी बनाउन तथ्यांकमा आधारित सूचना प्रणाली सुदृढीकरण आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यथार्थ तथ्यांक बिना प्रभावकारी योजना सम्भव हुँदैन। यो प्रणालीले विद्यालय अनुगमन र मूल्यांकनलाई व्यवस्थित बनाएको छ।” उहाँले विद्यालयमा पोशाकमा एकरूपता ल्याउन सबै विद्यार्थीलाई एउटै रङको ड्रेस व्यवस्था गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो।
साथै, गाउँ–गाउँबाट विद्यालय आउने विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै अटो चालकलाई गुलाबी ड्रेस उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। “विद्यार्थीको सुरक्षा र पहिचान हाम्रो प्राथमिकता हो,” उहाँले थप्नुभयो। उपप्रमुख गैह्रेले शैक्षिक सुधारसँगै सभ्यता, अनुशासन र जिम्मेवारीबोधलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै शिक्षा व्यवहारमा देखिनुपर्ने धारणा राख्नुभयो।
शिक्षा अधिकृत गीता पाठक ले सूचना प्रणालीमार्फत विद्यार्थी, शिक्षक र विद्यालयका भौतिक पूर्वाधारसम्बन्धी विवरण अद्यावधिक राख्न सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले योजना निर्माण र स्रोत व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाएको छ।”
जनहित आधारभूत विद्यालय का प्रधानाध्यापक चोलाकान्त रिजाल ले कार्यक्रम उपयोगी रहेको बताउँदै भन्नुभयो, “यो प्रणालीले विद्यालयको वास्तविक अवस्था पहिचान गर्न र दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउँछ।”
त्यसैगरी जनप्रिय आधारभूत विद्यालय की शिक्षिका सिर्जना गौडेल ले यस्ता कार्यक्रमले शिक्षकलाई प्रविधि प्रयोगमा दक्ष बनाउने बताउनुभयो। “प्रविधि प्रयोगमा सहजता आएपछि विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार देखिन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागीहरूले प्रणाली प्रयोग, तथ्यांक प्रविष्टि तथा व्यवस्थापनसम्बन्धी जानकारी लिएका थिए। नगरपालिकाले शिक्षा क्षेत्र सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्