अब आउने बजेटमा सिद्धार्थ राजमार्गको सम्बोधन हुन्छ : पूर्व मन्त्री अर्याल
अब आउने बजेटमा सिद्धार्थ राजमार्गको सम्बोधन हुन्छ : पूर्व मन्त्री अर्याल
चेम्बर अफ कमर्स वालिङद्धारा आयोजित प्रथम पिङ्क सिटी महोत्सवको उद्घाटन गर्दै अर्यालले वर्तमान सरकारले राजनितिक स्थायित्व र विकासलाई मुल मन्त्र बनाएर अघि बढेको बताएकी हुन् ।

सुशील सुवेदी
फागुन २१
पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नतीका आगामी बजेटमा रकम विनियोजन हुने बताएकी छन् ।
चेम्बर अफ कमर्स वालिङद्धारा आयोजित प्रथम पिङ्क सिटी महोत्सवको उद्घाटन गर्दै अर्यालले वर्तमान सरकारले राजनितिक स्थायित्व र विकासलाई मुल मन्त्र बनाएर अघि बढेको बताएकी हुन् ।
सरकारको तर्फबाट आफूले संकल्पको रुपमा कसम खाने बताउँदै अर्यालले भनिन् , ’आगामी वर्षको बजेट भाषणमा रकम विनियोजन भएर , ठेक्का लाग्नेछ । “
विकासको योजनामा कस्ले काम गर्यो भन्ने स्याबासी पाउन गरिने राजनैतिक खिचातानीको कारण स्याङ्जाको विकास पछि परेको बताउँदै अर्यालले भनिन् , ’हिजो म मन्त्री हुँदा हालेका योजना सम्झौता नहुने , पैसा फ्रिज हुने समस्या थियो । अब सबै दल मिलेर स्याङ्जाको विकासको लागि साझा योजना बनाएर अघि बढौँ । “
यस्तै गण्डकी प्रदेश सासंद तथा पूर्व मन्त्री सरस्वती तिवारीले यस्ता मेला महोत्सवले आयआर्जन र आयात निर्यातको तथ्याङ्क राख्नुपर्ने धारणा व्यक्त गरिन् । अनियन्त्रित सडक खन्ने क्रियाकलापले गाउँघरको मुल सुकेर खानेपानीको अभाव हुने , शिक्षा र स्वास्थ्यको पहुँच नपुग्ने कारण गाउँघर रित्तिएको बताईन् ।
प्रथम पिङ्क सिटी महोत्सवको उद्घाटनमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ , पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला , नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा , स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी , जिल्ला समन्वय प्रमुख श्री प्रसाद जिटी , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे , रास्वपाका जिल्ला सभापति विश्वास भण्डारी , नेकपा माओवादी जिल्ला ईन्चार्ज शैलेन्द्र घिमिरे , नेकपा एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस) र नेपाली काँग्रेसका कार्यवहाक सभापति केदार काफ्लेले प्रथम पिङ्क सिटी महोत्सवमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वालिङका सबै घरहरु पिङ्क रङ्ग भएको कारण यो महोत्सवको नाम पनि सोही अनुसार नामाकरण गरिएको र यसले पर्यटक आकर्षण गर्ने विश्वास लिइएको वालिङ चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मणि प्रसाद पंगेनीले बताए ।
महोत्सवमा वृद्ध तथा फरक क्षमता भएकालाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजक संस्थाका महासचिव गणेश राउतले जानकारी दिए ।
चैत्र ३ गते सम्म महोत्सव संचालन हुने कमर्सका अध्यक्ष प्रकास न्यौपाने ( किरण) ले जानकारी दिए । महोत्सवमा कृषि प्रदर्शनी , रत्यौली प्रतियोगिता , भलिबल प्रतियोगिता , बाल उद्यान लगाएतका स्टलहरु आकर्षणको रुपमा रहनेछन् । यस्तै , राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतीले दैनिक हजारौँ दर्शकले अवलोकन गर्ने विश्वास लिइएको आयोजक संस्थाका अध्यक्ष न्यौपानेको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्