बेपत्ता आमा–छोरा मृत फेला: ९ दिनपछि नारायणी नदीको कीनारमा भेटिए मृत आमा-छोरा
सुशील सुवेदी
स्याङजा ,भदौ २
कालीगण्डकी गाउँपालिका–४ बिर्घाकी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत अवस्थामा फेला परेका छन्।उनीहरू गत साउन २३ गतेदेखि बेपत्ता भएका थिए।
नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा आइतबार श्यामकलाको शव भेटिएको हो। सोहीस्थानदेखि करिब ३०० मिटर तल, मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारी क्षेत्रमा अर्पितको शव फेला परेको कालीगण्डकी–४ का वडा अध्यक्षयादव पाण्डे सुन्दरले जानकारी दिनुभयो। उहाँको अनुसार शवहरू भेटिँदा पहिल्यै कुहिएको अवस्थामा थियो ।
वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ ,“ मृतक बालकलाई कानको मुन्द्रा र घाँटीमा लगाएको मालाबाट पहिचान गरिएको हो। शवको आधिकारिक पुष्टि र थपकानुनी प्रक्रिया पूरा गर्न श्यामकलाको परिवार अहिले मध्यबिन्दु प्रादेशिक अस्पताल, कावासोति पुगेको छ।”
बेपत्ता भएको दिन
श्यामकला गत साउन २३ गते बिहान आफ्ना छोरासहित “माइत जान्छु” भन्दै घरबाट निस्किएका थिए । तर उनीहरू घर फर्केनन्। त्यसपछिखोजतलासको क्रममा गल्याङ नगरपालिका–५ स्थित सेतीवेणी नजिकै कालीगण्डकी नदी किनारमा श्यामकलाको झोला, मोबाइल फोन, चप्पल रअर्पितको जुत्ता फेला परेको थियो। यी सामग्री फेला परेपछि प्रहरीले घटनाबारे गम्भीर ध्यान दिँदै खोजी कार्य तीव्र पारेको थियो।
घटना घटेको ९ दिनपछि उनीहरू मृत अवस्थामा भेटिएका हुन् ।




प्रतिक्रिया राख्नुहोस्