वालिङको १९ औँ नगरसभा सम्पन्न : सभाबाट ४ वटा ऐन तथा विधेयक पारित
वालिङ , माघ १
वालिङ नगरपालिकाको १९ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले नगरको समग्र सुशासन, कानुनी व्यवस्था सुदृढीकरण र दिगो विकासलाई लक्ष्य गर्दै विभिन्न महत्वपूर्ण ऐन तथा विधेयकहरू बहुमतले पारित गरेको छ ।
नगरसभाबाट बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५ को पहिलो संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयक २०८२ र सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण ऐन २०८२ पारित गरिएको छ । यी निर्णयहरूले नगरपालिकामा कानुनी शासनलाई मजबुत बनाउँदै सामाजिक न्याय, आर्थिक अनुशासन, वातावरण संरक्षण र व्यवस्थित पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको नगरसभाध्यक्ष तथा नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । ।
नगरसभाको बैठकमा विभिन्न विषयगत समितिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो। समितिहरूले आ–आफ्नो क्षेत्र अन्तर्गत भएका गतिविधि, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाका बारेमा नगरसभालाई जानकारी गराएका थिए । सुशासन समितिको तर्फबाट संयोजक जुनु थापाले सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
आर्थिक विकास समितिको संयोजक सिता वि.क.ले आर्थिक विकास, स्थानीय स्रोत साधनको उपयोग, रोजगारी सिर्जना तथा राजस्व वृद्धिसम्बन्धी प्रतिवेदन पेश गर्नुभयो । त्यस्तै, पूर्वाधार विकास समितिको संयोजक भगवती पाण्डे(डुम्रे) ले सडक, भवन, खानेपानी, ढल व्यवस्थापनलगायत पूर्वाधार विकासका योजनाबारे जानकारी गराउनुभयो ।

सामाजिक विकास समितिको संयोजक युगमाया पंगेनीले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक डण्डापानी पंगेनीले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित प्रतिवेदन प्रस्तुत गर्नुभयो।
लेखा समितिको संयोजक सुनील खनालले आर्थिक पारदर्शिता, लेखापरीक्षण तथा वित्तीय अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाको आर्थिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी न्यायिक समितिका संयोजक पोत प्रसाद लम्सालले स्थानीय तहमा भएका विवाद समाधान, न्यायिक प्रक्रियाको अवस्था र सुधारका उपायबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा कार्यपालिकाको सार–संक्षेप प्रस्तुति नगरप्रवक्ता पदमराज गुरुङले गर्नुभएको थियो। उहाँले कार्यपालिकाबाट भएका प्रमुख निर्णय, कार्यान्वयनको अवस्था र आगामी प्राथमिकताका विषयमा नगरसभालाई जानकारी गराउनुभयो।
नगरसभामा सहभागी नगरसभा सदस्यहरूले प्रस्तुत ऐन, विधेयक र प्रतिवेदनहरूमाथि छलफल गर्दै सुझाव दिएका थिए । छलफलपछि ऐन तथा विधेयकहरू बहुमतले पारित गरिएको हो । वालिङ नगरपालिकाको १९ औँ नगरसभाले नगरलाई सुशासित, समावेशी र दिगो विकासतर्फ अग्रसर गराउने महत्वपूर्ण आधार तयार गरेको भन्दै सहभागीहरूले यसलाई उपलब्धिमूलक भएको बताएका छन् ।




प्रतिक्रिया राख्नुहोस्