कृषि उत्पादनलाई बजारसँग जोड्न वालिङ नगरपालिका र पैँचो पसलबीच सम्झौता

कृषि उत्पादनलाई बजारसँग जोड्न वालिङ नगरपालिका र पैँचो पसलबीच सम्झौता
हुमा तिवारी
वालिङ , २५ वैशाख
वालिङ नगरपालिकाले स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य अघि बढाएको छ । नगरपालिकाको कार्यालय र पैँचो पसल प्रालि बीच कृषि उत्पादनको संकलन तथा बजारीकरणका लागि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

नगरपालिकामा आयोजित कार्यक्रममा वालिङ नगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा नगर प्रमुखको रोहबरमा र पैँचो पसल प्रालिका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतासँगै नगरभित्र उत्पादित कृषि उपजलाई व्यवस्थित रूपमा संकलन, बजारीकरण तथा किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार वालिङ नगरपालिकाले सञ्चालन गरिरहेको कृषि विकास कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको संकलन तथा बिक्री व्यवस्थापनमा पैँचो पसलले सहकार्य गर्नेछ। स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपजलाई बजारको पहुँच दिलाउने, मूल्य सुनिश्चित गर्ने तथा बिचौलियाको प्रभाव घटाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिकाभित्रको १४ वटै वडामा ६० वटा संकलन केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्री गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सम्झौतामा कृषि उत्पादनको गुणस्तर कायम राख्ने, किसानलाई प्राविधिक परामर्श उपलब्ध गराउने तथा बजार व्यवस्थापनमा सहकार्य गर्ने विषय समेटिएको छ । किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्री हुन नसक्दा खेतीप्रति नै निराशा बढिरहेको अवस्थामा यस्तो सहकार्य प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख कृष्ण खाँणले स्थानीय उत्पादनको प्रवद्र्धन र किसानको आयआर्जन वृद्धि नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले वर्षौंदेखि समस्या भोग्दै आएको उल्लेख गर्दै अब उत्पादनदेखि बजारीकरणसम्म स्थानीय सरकार सहकार्यका साथ अघि बढ्ने धारणा राख्नुभयो ।

“किसानले मेहनत गरेर उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्री हुन सकेन भने कृषि प्रतिको आकर्षण घट्छ,” नगर प्रमुख खाँणले भन्नुभयो, “अब उत्पादन मात्रै होइन, बजारीकरणलाई पनि सँगसँगै अघि बढाउनुपर्छ । यही उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गरेका हौँ ।”

सम्झौताअनुसार कार्यक्रमको लागत साझेदारी मोडेलमा सञ्चालन हुनेछ । आवश्यक बिल तथा प्रतिवेदनका आधारमा निर्धारित प्रतिशत रकम भुक्तानी गर्ने व्यवस्था उल्लेख गरिएको छ । कार्यक्रमको कार्यान्वयन २०८३ सालदेखि सुरु भई २०८४ असार मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।

पैँचो पसल प्रालिका महाप्रबन्धक मनिष कुमार थापाले किसान र बजारबीचको दूरी घटाउने लक्ष्यसहित सहकार्य गरिएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा उत्पादन राम्रो भए पनि व्यवस्थापन र बजार पहुँच कमजोर हुँदा किसानले वास्तविक लाभ लिन नसकेको उल्लेख गर्नुभयो ।

“हामी किसानको उत्पादनलाई व्यवस्थित रूपमा संकलन गरेर उपभोक्तासम्म पु¥याउने काम गर्छौं,” थापाले भन्नुभयो, “किसानले उत्पादन बेच्न बजार धाउनुपर्ने होइन, बजार किसानसम्म पुग्नुपर्छ भन्ने अवधारणासहित हामी काम गरिरहेका छौं।”

वालिङसहित स्याङ्जाका ग्रामीण क्षेत्रमा उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य नपाउने समस्या लामो समयदेखि देखिँदै आएको छ । कतिपय अवस्थामा उत्पादन खेर जाने, ढुवानी खर्च नै नउठ्ने र बिचौलियाले कम मूल्यमा खरिद गर्ने अवस्थाले किसान निराश हुने गरेका छन् । यस्तो अवस्थामा स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ ।

स्थानीय कृषकहरूले पनि सम्झौताप्रति आशा व्यक्त गरेका छन्। उत्पादन बिक्री हुने सुनिश्चितता भए किसान खेतीतर्फ थप आकर्षित हुने विश्वास गरिएको छ । विशेषगरी युवालाई कृषि क्षेत्रमा टिकाइ राख्न बजार सुनिश्चितता सबैभन्दा महत्वपूर्ण पक्ष भएको सरोकारवालाहरू बताउँछन् ।

वालिङ नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बाख्रापालन, तरकारी खेती, व्यावसायिक कृषि तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब उत्पादनसँगै बजारीकरणलाई जोडेर किसानको आम्दानी बढाउने रणनीतिमा नगरपालिका अघि बढेको देखिएको छ ।

सम्झौताले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने मात्र होइन, किसानमा आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ । “उत्पादन गरेर बेच्न नपाइने” पुरानो चिन्ताबाट मुक्त गराउँदै कृषिलाई व्यवसायिक र सम्मानित पेशाका रूपमा स्थापित गर्न यस्तो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.