वालिङमा शिक्षा उपसचिव ख्याम नारायण काफ्लेको ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न
प्रे.दै संवाददाता
वालिङ ,१६ असार
वालिङ, स्याङ्जा । वालिङ नगरपालिकाबाट सेवा निवृत्त हुनुभएका शिक्षा उपसचिव श्री ख्याम नारायण काफ्लेको सम्मानमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरिएको छ।
वालिङ नगरपालिकामा शिक्षा शाखा प्रमुखका रूपमा २ वर्ष ३ महिना सेवा गर्नुभएका काफ्लेलाई नगरपालिकाले सम्मानसहित बिदाइ गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गरेको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण खाँणले काफ्लेले आफ्नो कार्यकालमा नगरको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन, शिक्षक–कर्मचारीसँगको समन्वय तथा शैक्षिक सुधारका विभिन्न कार्यमार्फत नगरको शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले काफ्लेको इमानदार, जिम्मेवार र समर्पित कार्यशैली सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै सेवा निवृत्त जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्रमुख कविता तिवारी गह्रेले शिक्षा क्षेत्रमा काफ्लेले पुर्याएको योगदान सदैव स्मरणीय रहने बताउँदै उहाँको अनुभव, नेतृत्व क्षमता र शैक्षिक सुधारप्रतिको प्रतिबद्धताले नगरपालिकाको शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले काफ्ले जिम्मेवार, अनुशासित र नतिजामुखी कर्मचारीका रूपमा परिचित रहेको बताउनुभयो। उहाँले कर्मचारी तथा सरोकारवालाबीच उत्कृष्ट समन्वय कायम गर्दै शिक्षा क्षेत्रको प्रभावकारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सेवा निवृत्तिपछि पनि उहाँको अनुभव समाज र राष्ट्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, शिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले काफ्लेको कार्यसम्पादनको प्रशंसा गर्दै सम्मानपत्र, मायाको चिनो तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्व ख्याम नारायण काफ्लेले वालिङ नगरपालिकामा कार्य गर्ने अवसर पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउँदै कार्यकालभर सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय परिवार तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि आफ्नो अनुभव र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्