फेदीखोलामा प्रथम राष्ट्रिय कोदो दिवस : २६ परिकारको प्रदर्शनी
फेदीखोलामा प्रथम राष्ट्रिय कोदो दिवस : २६ परिकारको प्रदर्शनी । गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हप्ताको दुई दिन अनिवार्य रूपमा कोदोको परिकार खुवाउने व्यवस्था लागू गरिएको छ।
सुशील सुवेदी
स्याङ्जा – साउन १७
प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा फेदीखोला गाउँपालिकाले विशेष कार्यक्रमसहित कोदो रोपाई तथा कोदोका परिकार प्रदर्शनी आयोजना गरेको छ । कार्यक्रममा स्थानीय महिलाहरूले कोदोबाट बनेका २६ प्रकारका बहुउपयोगी, स्वस्थ र स्वादिष्ट परिकारहरू प्रदर्शन गरेका थिए ।
प्रदर्शनी स्टलमा चाइनिज परिकार तोक्बी देखि नेपाली परिकार जेरी , मम , पुवा , पकौडा ,दाम्ले मिठाई जस्ता कोदोबाट बनेको परिकार राखिएको थियो ।

गाउँपालिकाले कोदोलाई स्थानीय उत्पादन र पोषण सुरक्षा सँग जोड्दै सामुदायिक विद्यालय, वडा कार्यालय र गाउँपालिकाका कार्यालयहरूमा दिवा खाजाको रूपमा अनिवार्य रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
त्यतिमात्र होइन, गाउँपालिकाभित्र सञ्चालित होटल तथा रेष्टुराँहरूलाई कम्तीमा एक वटा कोदोको परिकार मेनुमा राख्न प्रोत्साहित गरिँदैछ । खाजाको परिकारमा कोदोलाई हप्ताको एक दुई दिन प्रयोग गरेर होटेल रेष्टुराँमा मेनु बनाउन सक्दा लाखौँ रकम किसानको हातमा पुग्ने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
सुवेदीका अनुसार, “कोदोको प्रवद्र्धन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि अगाडि सारिएको छ ।” गाउँपालिकाका अनुसार, आफ्नै जमिनमा उत्पादन गर्ने किसानलाई प्रति रोपनी २ हजार रुपैयाँ र भाडामा लिएको जग्गामा खेती गर्ने किसानलाई २५०० रुपैयाँ प्रोत्साहन अनुदान दिइने छ ।
यस्तै कोदोबाट बन्ने घरेलु मदिरालाई ब्राण्डिङ गर्न संघ प्रदेश सरकारको कानुनले अल्झाएको बताउँदै सुवेदी भन्नुहुन्छ , “ गण्डकी प्रदेश सरकारले यसको कानुन ल्याउने तयारी गरेको छ ,यसले हामीलाई पनि बाटो फुक्छ ।”


हाल गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हप्ताको दुई दिन अनिवार्य रूपमा कोदोको परिकार खुवाउने व्यवस्था लागू गरिएको छ। यसले विद्यार्थीको पोषण स्तर सुधार गर्न र स्थानीय उत्पादनको खपत बढाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
फेदीखोला गाउँपालिका भित्र सञ्चालित होमस्टे व्यवसायहरूमा पनि कोदोबाट बनेका परिकारलाई अतिथि सत्कारको अनिवार्य अङ्ग बनाइएको छ ।
रामकोट सामुदायिक होमस्टे घर नं १ का सञ्चालक धना गुरुङ ले भन्नुभयो, “हामीले कोदोलाई परम्परागत खानामा सीमित नराखी आधुनिक स्वादमा पनि ढालिरहेका छौं । पाहुनाहरूलाई अब कोदोका परिकार हाम्रो पहिचानका रूपमा प्रस्तुत गर्नेछौं ।”
गाउँपालिकाले आयोजना गरेको कार्यक्रमले कोदोको सांस्कृतिक, पोषणीय र आर्थिक महत्वलाई पुनःस्थापित गर्नुका साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरेको देखिन्छ ।




प्रतिक्रिया राख्नुहोस्