वालिङमा अश्वगन्धा खेतीबारे अभिमुखीकरण : किसानलाई आत्मनिर्भर बनाउने अभियानको शुरुवात
“नगरपालिकाले पंतञ्जली अनुसन्धान प्रतिष्ठानमार्फत प्राप्त बीउ प्रयोग गरी आफ्नै नर्सरीमा बेर्ना उत्पादन गरेको छ। अहिले वालिङ नगरभित्र अश्वगन्धाको नर्सरी निर्माण भइसकेको छ र किसानहरूलाई आवश्यक विरुवा वितरणको तयारी भइरहेको छ ।”
सुशील सुवेदी
स्याङजा – २३ कार्तिक
वालिङ नगरपालिकाका इच्छुक र अग्रणी किसानहरूलाई लक्षित गरी बहुमूल्य जडिबुटी खेतीबारे अभिमुखीकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । किसानलाई अश्वगन्धाको औषधीय महत्व, यसको बजार सम्भावना र व्यावसायिक उत्पादनसँग जोड्ने उद्देश्य सहित कार्यक्रम गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी करिब ६० जना किसान सहभागी भएका थिए। उनीहरूलाई विभिन्न चरणमा अश्वगन्धाको औषधीय गुण, उच्च बजार माग र यसको व्यावसायिक खेतीका सम्भावनाबारे विस्तृत जानकारी प्रदान गरिएको हो ।
कार्यक्रममा किसानहरूलाई अश्वगन्धा खेतीको प्रविधि, माटोको गुणस्तर, बीउ छनोट, स्याहार–हेरचाह, नर्सरी व्यवस्थापन तथा बजार जडानका विषयमा व्यावहारिक सल्लाह दिइएको थियो ।
नगरपालिकाले पंतञ्जली अनुसन्धान प्रतिष्ठानमार्फत प्राप्त बीउ प्रयोग गरी आफ्नै नर्सरीमा बेर्ना उत्पादन गरेको छ। अहिले वालिङ नगरभित्र अश्वगन्धाको नर्सरी निर्माण भइसकेको छ र किसानहरूलाई आवश्यक विरुवा वितरणको तयारी भइरहेको छ ।
नगरपालिकाले यस बालीलाई यसै वर्षदेखि प्राथमिकतामा राख्दै प्राविधिक सहयोग र बजार पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नगर उपप्रमुख कविता तिवारी गैह्रेले भन्नुहुन्छ , “अश्वगन्धा खेतीले आत्मनिर्भर र आयमुखी कृषिको नयाँ अध्याय सुरु गर्नेछ । वालिङका किसानहरूलाई यसको व्यावसायिक उत्पादनतर्फ प्रोत्साहन दिइन्छ ।”
जैविक प्रविधिका प्राविधिक पवन बस्यालले भन्नुभयो , “अश्वगन्धा सुख्खा र अर्ध–सुख्खा भूमिमा सजिलै फल्ने बाली हो। थोरै लगानी र कम जोखिममा राम्रो आम्दानी लिन सकिने भएकाले यो किसानका लागि अत्यन्त सम्भावनायुक्त विकल्प हो ।”
अश्वगन्धा आयुर्वेदिक औषधिको मुख्य कच्चा पदार्थ हो जसको माग नेपालमै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो रहेको धनुवासे आयुर्वेदिक औषधालयका कबिराज हरि अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो , “यो जडिबुटीले तनाव, मधुमेह, रोगप्रतिरोधात्मक क्षमता वृद्धि लगायतका समस्यामा प्रभावकारी औषधीय गुण देखाउँछ । स्थानीय उत्पादन बढेमा आयुर्वेदिक उद्योगहरू स्वदेशमै संचालनम मात्र हुने छैनन् , उनीहरुले कच्चा पदार्थ समेत यहीँ पाउनेछन् ।”
“थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने सम्भावना भएकाले किसानहरू उत्साहित छन्। अश्वगन्धा खेतीले कृषिमा नयाँ व्यावसायिक मोड ल्याउनेछ ।”, जडिबुटी संरक्षण समितिका संयोजक मणी रेग्मीले बताउनुभयो ।
कार्यक्रममा सहभागी किसानहरूले पनि आफूहरूलाई नयाँ सम्भावनातर्फ प्रेरणा मिलेको प्रतिक्रिया दिए । वालिङ–९ का मधुसुदन आचार्य भन्नुहुन्छ “पहिले यो बालीबारे थाहा थिएन, अब सिकेपछि आफ्नो खेतमा सानो क्षेत्रबाटै सुरु गर्ने योजना बनाएको छु ।”
वालिङ नगरपालिकाले यसै वर्षदेखि अश्वगन्धा खेतीलाई स्थानीय आर्थिक समृद्धि कार्यक्रमसँग जोड्ने तयारी गरेको छ । उत्पादन बढाउन प्राविधिक तालिम, बीउ वितरण र बजार जडानका लागि सहकारी र निजी क्षेत्रसँग सहकार्य हुने जनाइएको छ ।
यो बालीले वालिङका किसानको आयस्तरमा प्रत्यक्ष सुधार ल्याउनेमा नगरपालिकाको विश्वास छ । वालिङ नगरभित्र वनस्पतीको अध्ययन गर्न पंतञ्जली अनुसन्धान प्रतिष्ठान मार्फत बैज्ञानिक सहितको टोली वालिङ आउने बताईएको छ ।




प्रतिक्रिया राख्नुहोस्