प्रमाण नपुगेपछि खनालको यू–टर्न सामाजिक सञ्जाल पोस्टबारे सार्वजनिक क्षमायाचना
वालिङ शिक्षामा आरोपपछि माफी: ‘हल्लाका आधारमा पोस्ट गरें’—खनाल
वालिङ,चैत १६ गते —
सामाजिक सञ्जालमा शिक्षामा आर्थिक चलखेल भएको आरोप लगाएका शिक्षक अमृत खनालले अन्ततः सार्वजनिक रूपमा माफी माग्नुभएको छ।
गत चैत्र ७ गते खनालले शिक्षक बढुवा, सरुवा तथा समायोजन प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न १० वटा बुँदा सार्वजनिक गर्नुभएको थियो। उक्त अभिव्यक्तिपछि वालिङ नगरपालिकाको शिक्षा क्षेत्र तरंगित बनेको थियो।
खनालले हिमाली मावि, चक्रदेबी विद्यालय, जामुनेडाँडा मावि, जनहित मावि, भुम्रे मावि, महेन्द्र मावि, रणवीर लगायतका विद्यालयहरूमा शिक्षक सरुवा, बढुवा तथा समायोजनका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको थियो।
तर सोमबार वालिङ नगरपालिकामा शिक्षा समिति, जनप्रतिनिधि, सम्बन्धित विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा भएको छलफलमा कुनै ठोस प्रमाण पेश हुन नसकेपछि खनालले सार्वजनिक रूपमा माफी माग्नुभएको हो।
अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहनुभएका खनालले बाहिरबाट आएका जनगुनासोका आधारमा सामाजिक सञ्जालमार्फत प्रश्न उठाएको स्वीकार गर्दै प्रमाण बिना यस्तो विषय सार्वजनिक गर्नु गल्ती भएको बताउनुभयो।
“आगामी दिनमा यस्ता गुनासो आए सामाजिक सञ्जालमा होइन, सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्नेछु,” भन्दै उहाँले क्षमायाचना गर्नुभयो।
छलफलका क्रममा आरोपित विद्यालयका शिक्षकहरूले आफूहरूले कुनै पनि आर्थिक चलखेल नगरेको स्पष्ट पार्दै प्रमाण भए कारबाही भोग्न तयार रहेको बताएका थिए।
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष तथा रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले बारम्बार शिक्षकको चरित्र हत्या हुने प्रवृत्तिप्रति आपत्ति जनाउँदै शिक्षा क्षेत्रमा अनियमितता नभएको दाबी गर्नुभयो।
“प्रमाण भए म शिक्षा क्षेत्र छोड्न तयार छु, तर बिना प्रमाण आरोप लगाउनेलाई कारबाही हुनुपर्छ,” उहाँले भन्नुभयो।
त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान केन्द्रीय सदस्य याम बहादुर कुँवरले भावनामा आएर सामाजिक सञ्जालमा यस्ता विषय सार्वजनिक गर्नु गलत भएको धारणा राख्नुभयो।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले यस्तो गतिविधिले सिङ्गो नगरपालिकाको छवि प्रभावित बनाएको टिप्पणी गर्नुभयो।
खनालको सामाजिक सञ्जाल पोस्टका कारण पछिल्लो समय स्याङ्जा जिल्लाको शिक्षा क्षेत्रमा व्यापक बहस र चासो उत्पन्न भएको थियो। अब भने उक्त विवाद सार्वजनिक माफीसँगै साम्य हुने अपेक्षा गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्