पाइनिअजले गर्यो अभिभावकलाई अभिमुखीकरण
शिक्षा र संस्कारमा जोड: पाइनिअजको अभिभावक अभिमुखीकरण कार्यक्रम
वालिङ , चैत २३
जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था पाइनिअज हायर एजुकेशन एकेडेमी ले अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
आइतवार रेड पिपर पार्टी प्यालेस मा आयोजित उक्त कार्यक्रममा प्री–प्राइमरी तहका अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्यलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ ।
विद्यालयका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको समग्र विकासका लागि अभिभावकको भूमिकालाई अझ स्पष्ट पार्नु र शिक्षण प्रक्रियामा अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यालयको शैक्षिक नीति, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, अनुशासन तथा अतिरिक्त क्रियाकलापबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मेघराज गैह्रेले पाइनिअजलाई जिल्लाकै उत्कृष्ट र सुविधा सम्पन्न विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले आगामी दिनमा मन्टेश्वरी तहबाटै विद्यार्थी लक्षित थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
“बालबालिकाको समग्र विकासका लागि केवल पुस्तक ज्ञान पर्याप्त हुँदैन, उनीहरूलाई व्यवहारिक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

गैह्रेका अनुसार विद्यालयले बालबालिकालाई सुरक्षित, व्यवस्थित र आकर्षक सिकाइ वातावरण उपलब्ध गराउन विशेष ध्यान दिएको छ । स्विमिङ पुल, हाइजेनिक खाजा, खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सामग्री उपलब्ध गराएर बालबालिकाको प्रतिभा विकासमा जोड दिइने उनले बताए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रशिक्षक तथा सहजकर्ता साधना भण्डारी ले बालबालिकाको समग्र विकासबारे प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँले “बालापन प्रकृतिले मानिसलाई दिएको सबैभन्दा सुन्दर उपहार हो” भन्दै यसलाई सही मार्गदर्शनमार्फत समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
भण्डारीले २१औँ शताब्दीका बालबालिकालाई परम्परागत घोकन्ते शिक्षाबाट बाहिर निकाल्दै नयाँ सोच, सिर्जनशीलता र व्यवहारिक ज्ञानमा आधारित शिक्षण पद्धति अपनाउनुपर्ने बताउनुभयो । “आजको युग प्रविधिको युग हो। त्यसैले प्रविधिमैत्री शिक्षण विधि अपनाएर मात्रै बालबालिकालाई प्रतिस्पर्धी बनाउन सकिन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार बालबालिकाको विकास केवल विद्यालयको जिम्मेवारी मात्र नभई अभिभावकको सक्रिय भूमिकासँग पनि प्रत्यक्ष सम्बन्धित छ । “बालबालिकालाई दबाब होइन, प्रेरणा दिनुपर्छ। उनीहरूको रुचि, क्षमता र चाहनालाई बुझेर अघि बढाउन सके मात्रै उनीहरू आत्मविश्वासी र सफल बन्न सक्छन्,” उहाँले जोड दिनुभयो ।
भण्डारीले डिजिटल सीप, आलोचनात्मक सोच र जीवनोपयोगी ज्ञानलाई आजको शिक्षाको महत्वपूर्ण अंगका रूपमा लिनुपर्ने उल्लेख गर्दै अभिभावक र शिक्षकबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी कार्यक्रममा स्टुडेन्ट डिन नासिर खाँले विद्यार्थीमैत्री वातावरण निर्माण गर्न विद्यालय निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँले सिकाइ प्रक्रियालाई व्यवहारिक, रोचक र प्रभावकारी बनाउन विभिन्न नवीन विधि अपनाइँदै आएको बताउनुभयो ।
स्वागत मन्तव्य व्यक्त गर्दै मन्टेश्वरी प्रमुख इन्चार्ज चन्द्रकला गोतामेले प्रारम्भिक बालशिक्षा बालबालिकाको भविष्य निर्माणको आधार हुने बताउँदै यस चरणमा अभिभावकको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो। “घर र विद्यालयबीच राम्रो समन्वय भए मात्रै बालबालिकाको सिकाइ प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै आफ्ना जिज्ञासा, सुझाव र अनुभवहरू राखेका थिए। उनीहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
अभिभावकहरूले यस्ता कार्यक्रमले आफूहरूलाई विद्यालयको नीति, शिक्षण प्रणाली र बालबालिकाको विकाससम्बन्धी जानकारी पाउन मद्दत पुगेको बताएका थिए । यसले बालबालिकालाई घरमै पनि सही वातावरणमा सिक्न सहयोग पुग्ने विश्वास उनीहरूको रहेको थियो ।
विद्यालय प्रशासनले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अभिभावक–विद्यालय सम्बन्धलाई अझ सुदृढ बनाउने योजना रहेको जनाएको छ ।
विसं २०४४ सालमा स्थापना भएको पाइनिअज हायर एजुकेशन एकेडेमी स्याङजामा गुणस्तरीय शिक्षाका लागि परिचित संस्था हो । यहाँ होटल म्यानेजमेन्ट, विज्ञान लगायतका विषयहरूमा उत्कृष्ट नतिजा हासिल हुँदै आएको छ। आधुनिक पूर्वाधार, दक्ष शिक्षक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण विद्यालयले जिल्लामा छुट्टै पहिचान बनाएको छ ।
समग्रमा, उक्त अभिमुखीकरण कार्यक्रमले अभिभावक, शिक्षक र विद्यालयबीच सहकार्यको महत्वलाई उजागर गर्दै बालबालिकाको गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य निर्माणतर्फ सकारात्मक सन्देश दिएको छ ।




प्रतिक्रिया राख्नुहोस्