अमेरिकी सैन्य भ्रमण: अवसर र सावधानीको सन्तुलन
अमेरिकी सैन्य भ्रमण: अवसर र सावधानीको सन्तुलन
सम्पादकिय:
अमेरिकी सेनाका उच्च अधिकारी जोएल बी. भोओएल को ३ दिने नेपाल भ्रमणलाई केवल औपचारिक कूटनीतिक कार्यक्रमका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। दक्षिण एशियामा बदलिँदो भूराजनीतिक सन्तुलन, एशिया–प्रशान्त क्षेत्रमा बढ्दो शक्ति प्रतिस्पर्धा र नेपालको संवेदनशील भौगोलिक अवस्थिति हेर्दा यस्तो भ्रमणले विभिन्न रणनीतिक सन्देश बोकेको हुन सक्छ।
नेपालले आफ्नो परराष्ट्र नीतिको आधारका रूपमा लामो समयदेखि असंग्लनताको सिद्धान्तलाई अवलम्बन गर्दै आएको छ। यस सिद्धान्तअनुसार नेपाल कुनै पनि शक्ति गुटमा आबद्ध नहुने, सबै राष्ट्रसँग समान मित्रता कायम राख्ने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नीति अपनाउँदै आएको छ। यही कारणले नेपालले अमेरिका, चीन, भारत लगायत विभिन्न देशसँग सन्तुलित सम्बन्ध कायम राख्दै आएको छ।
यसै सन्दर्भमा युनाईटेड स्टेट आर्मी प्यासिफीक का डेपुटी कमान्डिङ जनरल भोवेलको नेपाल भ्रमणलाई दुई देशबीचको सैन्य सहकार्यको निरन्तरता भनेर पनि व्याख्या गर्न सकिन्छ।
युनाईटेड स्टेट आर्मी प्यासिफीकको अर्थ-
अमेरिकी स्थलसेनाको एशिया–प्रशान्त क्षेत्रमा रहेको प्रमुख सैन्य कमाण्ड हो। यो अमेरिकी सेनाको अन्तर्गतको क्षेत्रीय सैन्य संरचना हो, जसले एशिया र प्रशान्त क्षेत्रका देशहरूसँग सुरक्षा सहकार्य, सैन्य तालिम र रणनीतिक गतिविधि समन्वय गर्छ।
नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै तालिम, संयुक्त अभ्यास तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य हुँदै आएको छ। प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालका लागि यस्तो सहकार्यले प्राविधिक क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धिमा सहयोग पुर्याउन सक्छ।
तर विश्व राजनीतिमा पछिल्लो समय इन्डो प्यासिफीक रणनीति को महत्व उल्लेखनीय रूपमा बढ्दै गएको छ। यो भनेको –
अमेरिकाले तयार गरेको एक भूराजनीतिक र रणनीतिक नीति हो, जसको उद्देश्य हिन्द महासागरदेखि प्रशान्त महासागरसम्मको क्षेत्र (एशिया–प्रशान्त क्षेत्र) मा आफ्नो कूटनीतिक, आर्थिक र सुरक्षा उपस्थितिलाई बलियो बनाउनु हो।
अमेरिका यस रणनीतिमार्फत एशिया–प्रशान्त क्षेत्रमा आफ्नो रणनीतिक उपस्थिति बलियो बनाउन सक्रिय देखिन्छ। धेरै विश्लेषकहरूले यसलाई चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने प्रयासका रूपमा पनि व्याख्या गरेका छन्।
नेपालको भूराजनीतिक अवस्थिति यस सन्दर्भमा झनै संवेदनशील छ। नेपाल दुई ठूला शक्ति भारत र चाईना बीच अवस्थित छ, जससँग नेपालको आर्थिक, राजनीतिक तथा सांस्कृतिक सम्बन्ध गहिरो छ। यस्तो अवस्थामा बाह्य शक्तिहरूको सक्रियता नेपालका लागि अवसर र चुनौती दुवै बन्न सक्छ।
एकातर्फ नेपालले विभिन्न देशसँग सहकार्य गर्दै आर्थिक सहयोग, प्रविधि हस्तान्तरण, तालिम तथा विकासका अवसरहरू प्राप्त गर्न सक्छ। अर्कोतर्फ कुनै एक शक्ति नजिक भएको सन्देश गएमा अर्को शक्ति असन्तुष्ट हुने सम्भावना पनि रहन्छ। त्यसैले नेपालका लागि कूटनीतिक सन्तुलन कायम राख्नु अत्यन्त महत्वपूर्ण विषय हो।
नेपालको आन्तरिक राजनीतिमा पनि विदेशी सहयोग र रणनीतिक साझेदारीका विषयहरू बेला–बेलामा विवादको विषय बन्ने गरेका छन्। उदाहरणका रूपमा एमसीसी सम्झौताले ठूलो राजनीतिक बहस उत्पन्न गरेको थियो। यसले देखाउँछ कि नेपालमा भूराजनीतिक विषयहरू केवल कूटनीतिक होइन, राजनीतिक र सामाजिक बहसको विषय पनि बन्ने गरेका छन्।
यस पृष्ठभूमिमा अमेरिकी सैन्य अधिकारीको भ्रमणलाई केहीले शंकाको दृष्टिले हेर्नु स्वाभाविक हुन सक्छ भने केहीले यसलाई अवसरका रूपमा पनि व्याख्या गर्न सक्छन्। वस्तुतः नेपालले विभिन्न देशसँग सैन्य सहकार्य गर्दै आएको छ, जसले सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धिमा योगदान पुर्याएको छ।
तर नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो राष्ट्रिय हित, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिलाई केन्द्रमा राखेर सन्तुलित कूटनीति कायम राख्नु हो। यही सन्तुलनले नेपाललाई शक्ति प्रतिस्पर्धाको केन्द्र बन्नबाट जोगाउन सक्छ।
अन्ततः जोएल बी. भोओएल को नेपाल भ्रमणलाई अवसर र सावधानी दुवै दृष्टिले हेर्न आवश्यक छ। यदि नेपालले सहकार्यलाई विकास, क्षमता अभिवृद्धि र मानवीय सहयोगमा केन्द्रित गर्न सकेमा यस्तो भ्रमण लाभदायक बन्न सक्छ। तर कूटनीतिक सन्तुलन गुमेमा यही विषय भविष्यमा विवाद र दबाबको कारण बन्ने सम्भावना पनि रहन्छ।




प्रतिक्रिया राख्नुहोस्