वित्तीय साक्षरता सिकाउँदै बैँकर्स क्लब अफ वालिङ
पछिल्लो समय नेपाली समाजमा देखिएको जीवनशैली परिवर्तनले खर्च गर्ने प्रवृत्तिलाई तीव्र बनाएको छ। विशेषगरी बालबालिका तथा युवापुस्तामा डिजिटल बजार, अनलाइन किनमेल र विलासी वस्तुको सहज पहुँचले “कमाउनेभन्दा खर्च गर्ने” संस्कार बढ्दै गएको देखिन्छ। यस्तो अवस्थामा बचत गर्ने बानी कमजोर बन्दै जाँदा भविष्यका महत्वपूर्ण क्षणमा आर्थिक अभाव झेल्नुपर्ने बाध्यता अझै गहिरिँदै गएको छ।-बैंकर्स क्लब अफ वालिङका अध्यक्ष नविन काफ्ले
सुशील सुवेदी
वालिङ , चैत ३ गते
पछिल्लो समय विलासिता र बजारको सहज पहुँचका कारण बालबालिका तथा युवापुस्तामा खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । बचत गर्ने बानीको अभावका कारण महत्वपूर्ण समयमा आर्थिक अभाव झेल्नुपर्ने अवस्था बढ्दै गएको सन्दर्भमा स्याङ्जाको वालिङमा बैंकर्स क्लब अफ वालिङले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।
विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ग्लोबल मनी विकको १४औँ संस्करण अन्तर्गत आयोजित यस कार्यक्रममार्फत सामुदायिक विद्यालयका विद्यार्थीलाई वित्तीय सचेतना प्रदान गरिने बैंकर्स क्लब अफ वालिङका अध्यक्ष नविन काफ्लेले जानकारी दिनुभयो ।शुभारम्भ कार्यक्रममा वालिङ नगरपालिकाभित्र संचालीत वित्तीय संस्थाका प्रवन्धक तथा प्रतिनिधिले वित्तीय साक्षरता सम्बन्धी प्लेकार्डहरु बोेकेर बजार क्षेत्रमा प्रभातफेरी गरेका थिए । शुभारम्भ कार्यक्रम सँगै चैत्र ८ गते सम्म नगरभित्रका २१ वटा वित्तीय संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम विद्यालयमा नै संचालन गर्ने अध्यक्ष काफ्लेको भनाई छ ।
क्लबका अध्यक्ष काफ्ले भन्नुहुन्छ ,“अहिलेको पुस्तामा खर्च गर्ने बानी बढ्दै गएको छ, त्यसैले सानैदेखि बचत गर्ने संस्कार विकास गराउन हामीले विद्यालयस्तरमै वित्तीय साक्षरता कार्यक्रम सुरु गरेका हौँ। यसले विद्यार्थीलाई भविष्यमा जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने हाम्रो विश्वास छ।”
सोही कार्यक्रममा बोल्दै मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले पनि जीवनभर पैसाको आवश्यकता रहने भएकाले बचतलाई नै कमाइको रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।
“मानिसको जीवन जन्मदेखि मृत्युसम्म पैसासँग जोडिएको हुन्छ। कमाइ मात्रै होइन, बचत गर्न सक्नु नै वास्तविक कमाइ हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ,”ढकालले बताउनुभयो ।
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको छ। प्रत्येक वर्ष मार्च १६ देखि २२ सम्म सञ्चालन हुने यस अभियानले वित्तीय ज्ञान, सीप र सकारात्मक व्यवहार विकास गरी जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
स्मार्ट मनी टक्स् भन्ने नारासहित सञ्चालन भइरहेको यस वर्षको कार्यक्रम चैत ८ गते सम्पन्न हुने जनाइएको छ।




प्रतिक्रिया राख्नुहोस्