संघर्ष , योगदान र जिम्मेवारीको यात्रामा केदार काफ्ले
प्रेस दैनिक संवाददाता
वालिङ ,असोज १२
२०३६ सालको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका केदार काफ्ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवार बनेका छन्। उनी स्याङ्जा क्षेत्र नं. २ अन्तर्गत खुला तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय काफ्लेको राजनीतिक यात्रा विभिन्न आन्दोलन, संगठनात्मक जिम्मेवारी र जनप्रतिनिधिको भूमिकासँग जोडिएको छ।
२०४३ सालमा वालिङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव बनेका काफ्ले २०४९ सालमा सोही क्याम्पसको स्ववियु सभापति बनेका थिए। त्यसपछि स्थानीय राजनीतिमा सक्रिय हुँदै २०४५ सालमा वालिङ नगरपालिकाको वडाध्यक्षको जिम्मेवारीसमेत सम्हाले।
काफ्लेको राजनीतिक यात्रामा २०६२/०६३ को जनआन्दोलन पनि महत्वपूर्ण अध्यायका रूपमा रहेको छ। उनका अनुसार आन्दोलनका क्रममा उनी सात पटकसम्म प्रहरी हिरासतमा परेका थिए। तत्कालीन राजाको प्रत्यक्ष शासनकालमा नगर निर्वाचन बहिष्कार गरेको भन्दै उनले २८ दिन स्याङ्जा जिल्ला कारागारमा बिताएका थिए। जनआन्दोलनका क्रममा उनी घाइतेसमेत भएका थिए।
नेपाली कांग्रेसको संगठनमा जिल्ला सदस्य हुँदै क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका काफ्ले २०७४ सालमा पुनः वालिङ नगरपालिका वडा नं १ को वडाध्यक्ष बने। लामो समयदेखि विभिन्न सामाजिक संघ–संस्था तथा पार्टी संगठनमा सक्रिय उनी अहिले नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन्।
राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई आफ्नो यात्राको आधार बनाउँदै काफ्ले १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्।
स्याङ्जा क्षेत्र नं. २ को खुला तर्फबाट उम्मेदवारी दिएका काफ्लेको राजनीतिक यात्रा र संगठनमा निर्वाह गरेका जिम्मेवारीसँगै उनको उम्मेदवारीले क्षेत्रीय कांग्रेस राजनीतिमा चासो बढाएको छ।




प्रतिक्रिया राख्नुहोस्