“उमेर ढल्केछ , आँखाले भ्याउ पाउँदैन ” भन्नेहरूमा मोतिविन्दु को जोखिम : शल्यक्रिया गर्नुपर्ने १९० जना पहिचान

मुहारमा खुशी व्यक्त गर्दै चोपलाल डुम्रे भन्नुहुन्छ , “६ गते अस्पताल बोलाएका छन् । २ वर्ष सम्म सहेर बसेँ , अहिले त गाउँघरमै उपचार पाउने भएँ ।”

सुशील सुवेदी
स्याङ्जा , वैशाख ०२

वालिङ १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा आउनुभएका ७७ वर्षिय चोपलाल डुम्रे भन्नुहुन्छ “उमेर ढल्केछ , आँखाले भ्याउ पाउँदैन ।” उहाँको आँखाले धमिलो देख्न थालेको २ वर्ष भयो ।
आइतबार थुमपोखरा स्वास्थ्य चौकीमा निशुल्क आँखा जाँच शिविरमा डुम्रेले आँखा चेक गराएपछि उहाँको आँखामा मोतिविन्दु पहिचान भयो । वालिङ नगरभित्र डुम्रे जस्तै शल्यक्रिया गर्नुपर्ने १९० जना पहिचान भएका छन् ।
वालिङ नगरपालिका र हिमालय आँखा अस्पतालको संयुक्त आयोजनामा चैत २५ देखि ३१ गतेसम्म १४ वटै वडालाई लक्षित गर्दै १३७९ जनाको आँखा जाँच गरिएको थियो ।
गाउँघरमै लुकाएर राखिएका रोगहरु खोज्ने र निशुल्क समाधान गर्ने अभियान संचालन गरेसँगै स्थानीय सरकारसँग नगरबासी निकै खुशी भएका छन् ।
मुहारमा खुशी व्यक्त गर्दै चोपलाल डुम्रे भन्नुहुन्छ , “६ गते अस्पताल बोलाएका छन् । २ वर्ष सम्म सहेर बसेँ , अहिले त गाउँघरमै उपचार पाउने भएँ ।”
आँखाको विषयमा संवेदनशिल नबन्दा दृष्टि गुम्न सक्ने वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो । उमेरलाई देखाएर समयमा उपचार नगर्दा समस्या जटिल बन्न सक्ने उहाँको भनाई छ । अहिले ग्रामिण भेगका अधिकाशं आमा बुवामा यस्तै समस्याको कारण छिप्पिएको मोतिविन्दु देखिएको पाण्डे बताउनुहुन्छ ।
“हामिले ७ दिन ७ स्थानमा १४ वटै वडालाई पायक पर्ने गरी शिविर संचालन गरेका थियौँ , १९० जनामा मोतिविन्दु पहिचान भएको छ उहाँहरुको निशुल्क शल्यक्रिया हुन्छ । ” पाण्डेले बताउनुभयो ।
पहिचान भएका बिरामीहरूलाई यही वैशाख ६ र ७ गते, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा गह्रौँ प्राथमिक अस्पतालमा निःशुल्क अपरेसन सेवा प्रदान गरिने छ ।
आँखाको समस्यामा लापरबाही गर्दा निको हुने मोतिविन्दुले दृष्टिविहीन बनाउन सक्ने दृष्टि विशेषज्ञ सरिता भण्डारीको भनाइ छ ।
भण्डारी भन्नुहुन्छ , यो रोगको समयमै पहिचान भयो भने तत्काल समाधान गर्न सकिन्छ तर समयमै उपचार नगरिए अन्धोपन सम्म निम्तिन सक्छ ।
विश्व स्वास्थ्य संगठन का अनुसार, विश्वभर अन्धोपनका मुख्य कारणहरू मध्ये मोतिविन्दु अग्रपंक्तिमा पर्छ । विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिहरूमा यसको जोखिम उच्च हुने गरेको भण्डारीको भनाइ छ ।
“राम्रो योजना गरिएको सामुदायिक स्क्रिनिङ कार्यक्रम र सरल शल्यक्रियामार्फत ९०% भन्दा बढी केसहरूमा मोतियाविन्दु पूर्ण रूपमा निको पार्न सकिन्छ । ” , भण्डारीले बताउनुभयो ।

वालिङ नगरपालिकाले स्वास्थ्य क्षेत्रम प्रभावकारी काम संचालन गरेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । “घरघरमा र विद्यालयमा नर्स कार्यक्रमले हामीले संचालन गरेका छौँ । नागरिकलाई आफ्नो स्वास्थ्य प्रति सजक गराउने गरी यस्ता शिविरहरु नियमित गराउँछौँ ”, खाँणले जानकारी दिनुभयो ।

यस्ता शिविरले गाउँघरमा लुकेका रोगहरुको पहिचान गर्न मद्धत पुगेको नगर उपप्रमुख कविता तिवारी— गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो ,“ केहि भएको छैन भनेर बस्नेहरु पनि शिविरम चेकजाँच गर्ने बानिको विकास भएको छ । यसले लुकेका रोगहरुको निदान हुने र समयमा उपचार गनृ पाउने अवसर गाउँ गाउँमा प्रदान गरेका छौँ । ”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.