वालिङमा आँखा स्वास्थ्य शिविरः ३२ जनामा मोतियाविन्दु, निःशुल्क शल्यक्रिया हुँदै

हुमा तिवारी
वालिङ , भदौ १

वालिङ नगरपालिकाको आयोजना र हिमालयन आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आँखा स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा नागरिकले सेवा लिएका छन् ।
वडा नं ७ केवरेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ११ श्री कालिका आवि, भकभकामा सञ्चालन गरिएको शिविरमा जम्मा २६१ जनाले आँखा जाँच गराएका थिए । परीक्षणमा ३२ जनामा मोतियाविन्दु पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार शल्यक्रिया आवश्यक ठहरिएका ती बिरामीहरूको भदौ ४, ५ र ६ गते गह्रौ प्राथमिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ । यसरी स्थानीय तहकै पहलमा गरिएको कार्यक्रमले धेरैलाई जीवनमा ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

यसरी गाउँ–गाउँमै पुगेर शिविर सञ्चालन गर्नु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अभ्यास रहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । खाँण भन्नुहुन्छ ,“मोतियाविन्दु जस्ता रोगहरू समयमै उपचार नगरे अन्धोपनको कारण बन्न सक्छन् । तर धेरै नागरिकले सुरुमा गम्भीरतापूर्वक लिँदैनन् । यसरी शिविरमार्फत प्रारम्भिक अवस्था पत्ता लाग्दा उपचार सजिलो हुन्छ । हामीले नियमित रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं ।”

नेपालमा आँखा सम्बन्धी रोगहरू, विशेषगरी मोतियाविन्दु, बृद्ध उमेरसँगै धेरै देखिने समस्या हो। तर ग्रामीण भेगका नागरिकले उपचारमा ढिलाइ गर्ने, खर्चको अभाव वा अस्पताल पुग्न कठिनाइका कारण समस्या जटिल हुने गरेको कारण यो अभियानलाई निरन्तरता दिइएको नगरउपप्रमुख कविता तिवारी गैरेको भनाई छ । यस्ता अवस्थामा स्थानीय तहकै सक्रियतामा सञ्चालन हुने निःशुल्क शिविरले स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने महत्वपूर्ण भूमिका खेल्ने तिवारी बताउनुहुन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले यस कार्यक्रमलाई स्वास्थ्यप्रति नगरपालिकाको प्राथमिकताको प्रमाणका रूपमा लिएको बताउनुभयो । “नगरपालिकाले बजेट र स्रोतको व्यवस्थापन गर्दै नागरिकलाई नजिकमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएको छ। आँखा स्वास्थ्य शिविर त्यसैको उदाहरण हो। यो केवल एकपटकको कार्यक्रम होइन, भविष्यमा पनि निरन्तर गरिनेछ,”सुवेदीको भनाई छ । वालिङ नगरपालिकाले गत वर्ष पनि १५२ जनाको निशुल्क शल्यक्रिया गरेको थियो ।सोमबार वालिङ १२ को सिर्सेकोट स्वास्थ्य चौकी र वडा नं ३ को माझकोट स्वास्थ्य चौकीमा निशुल्क आँखा जाँच शिविर संचालन हुने छ । यस्तै, मंगलबार वालिङ ९ स्थित गह्रौँ प्राथमिक अस्पतालमा शिविर संचालन आयोजना हुने नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारले गरेको यो पहल केवल आँखा स्वास्थ्यकै लागि होइन, सम्पूर्ण स्वास्थ्य सेवामा “नागरिकमैत्री अभ्यास” को रूपमा लिन सकिन्छ । २६१ जनामध्ये ३२ जनामा मोतियाविन्दु पत्ता लाग्नु, र उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था हुनु, स्थानीय सरकारको जनप्रेम र जिम्मेवारी बोधको उदाहरण बनेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.