जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न — चिराग आवासीय मावि प्रथम
हुमा तिवारी
स्याङ्जा, भदौ ४
नेपाल रेडक्रस सोसाइटी, जुनियर तथा युवा रेडक्रस समिति स्याङजाको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ । रेडक्रस सोसाइटी स्याङजाको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १० वटा माध्यमिक विद्यालयहरूक सहभागिता रहेको थियो ।
प्रतियोगितामा चिराग आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो । विद्यालयले नगद पुरस्कार स्वरूप( रु. ५,००० नगद) तथा प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी, अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले द्वितीय स्थान (रु. ३,००० नगद) र भगवती माध्यमिक विद्यालयले तृतीय स्थान (रु. २,००० नगद) सहित प्रमाणपत्र हात पार्न सफल भए ।
कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य दिनेश अर्यालले गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्घाटन गर्दै रेडक्रसले निरन्तर रूपमा युवामाझ सेवा, मानवता र स्वैच्छिकताको भावना जगाउँदै आएको उल्लेख गर्नुभयो ।
यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक, नैतिक र सामाजिक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालय तहबाटै सशक्त र उत्तरदायी नागरिक उत्पादनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका शिक्षा अधिकृत शोभा बस्यालले शुभकामना मन्तव्य राख्दै वर्तमान शिक्षा प्रणालीमा सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानको पनि उत्तिकै महत्त्व रहेको बताउनुभयो । “पाठ्यपुस्तकभन्दा बाहिरका गतिविधिले विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्ने काम गर्छ,” उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले आत्मविश्वास, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्छ, जुन हाम्रा विद्यार्थीको दिगो भविष्यका लागि अत्यावश्यक छ ।”
नेपाल पत्रकार महासंघ स्याङजाका पूर्व अध्यक्ष ओम प्रकाश शर्माले कार्यक्रमको प्रशंसा गर्दै सञ्चारको दृष्टिकोणबाट यस्ता क्रियाकलापहरू सूचना, चेतना र सहभागिताको बलियो आधार बन्न सक्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवार र समाजप्रति सचेत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै हाजिरीजवाफजस्ता ज्ञानमूलक प्रतियोगिताले यथार्थ बुझ्ने, विश्लेषण गर्ने र तर्क गर्ने क्षमताको विकासमा सहयोग गर्ने धारणा राख्नुभयो ।
प्रतियोगितामा मन्तव्य राख्ने क्रममा चिराग आवासीय माविका शिक्षक रुकमागत भण्डारी, भागोदय माविकी विद्यार्थी प्रतिनिधि कुसुम रेग्मी र नेपाल रेडक्रस सोसाइटी भिरकोट नगरपालिकाका जुनियर संयोजक शोभाकान्त पौडेलले विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा यस्ता कार्यक्रम अपरिहार्य रहेको विचार व्यक्त गरे । उनीहरूले भविष्यमा अझ धेरै विद्यालयको सहभागिता हुने गरी कार्यक्रमको दायरा फराकिलो बनाउने सुझावसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस समिति स्याङजाका संयोजक विष्णु सुवेदीले गर्नुभएको थियो । उहाँले प्रतियोगिताको उद्देश्य, तयारी र सहभागिताको बारेमा जानकारी दिँदै सहभागी विद्यालय, शिक्षक, विद्यार्थी तथा अतिथिहरूप्रति आभार प्रकट गर्नुभयो । उहाँका अनुसार जिल्लाका अधिकांश प्रमुख विद्यालयबाट प्रतिनिधित्व भएको यस प्रतियोगिताले स्याङजाको शैक्षिक र सामाजिक वातावरणमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ ।
कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी स्याङजाकी प्रमुख संजिता श्रेष्ठले गर्नुभएको थियो । स्याङजामा रेडक्रसले सुरु गरेको यस्तो पहलले आगामी दिनमा अझ फराकिलो प्रभाव पार्ने विश्वास गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्