पोषणमैत्री पालिका घोषणाको तयारीमा वालिङ, वडा–वडामा अभिमुखीकरण
वालिङ नगरपालिकाभित्र पाँच वर्षमुनिका २ हजार ४ सय ८३ बालबालिकामाथि गरिएको परीक्षणमा ३४ जना कुपोषित र ३ जना दीर्घ कुपोषित फेला परेका छन् ।
वालिङ नगरपालिकाभित्र पाँच वर्षमुनिका २ हजार ४ सय ८३ बालबालिकामाथि गरिएको परीक्षणमा ३४ जना कुपोषित र ३ जना दीर्घ कुपोषित फेला परेका छन् ।
वालिङ, जेठ १३
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ भित्र नगरलाई पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित सरोकारवाला निकायसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाले १४ वटै वडामा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजिकरण समिति र जनप्रतिनिधिलाई लक्षित गर्दै पोषणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाइ, खाद्य सुरक्षा तथा बाल विकाससँग सम्बन्धित सूचकबारे छलफल गरिएको थियो । पोषणमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक मापदण्ड, समुदायको भूमिका र स्थानीय सरकारको जिम्मेवारीबारे सहभागीलाई जानकारी गराइएको थियो ।
नगर उपप्रमुख कविता तिवारी गैह्रे ले पोषणसम्बन्धी कार्यक्रम राष्ट्रिय नीति र स्थानीय सरकारको दायित्व दुवैसँग जोडिएको विषय भएकाले यसलाई अभियानकै रूपमा अघि बढाइएको बताउनुभयो ।
“स्वस्थ नागरिक बिना समृद्ध समाज निर्माण सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “त्यसैले पोषण, स्वास्थ्य, सरसफाइ र बाल विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको हो ।”
पोषणमैत्री मात्र नभई बालमैत्री नगरपालिकाको सूचक पूरा गर्नका लागि पनि नगरपालिकाले तीव्र रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । बालअधिकार, स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित वातावरण निर्माणलाई प्राथमिकतामा राखेर वडा तहसम्म अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
उहाँले आगामी मंसिर ४ गते वालिङ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यसहित बालअधिकार, शिक्षा, स्वास्थ्य, पोषण तथा सुरक्षासम्बन्धी सूचक पूरा गर्न नगरपालिका सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे ले पोषणमैत्री पालिका निर्माणले बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार ल्याउने बताउनुभयो ।
उहाँका अनुसार वालिङ नगरपालिकाभित्र पाँच वर्षमुनिका २ हजार ४ सय ८३ बालबालिकामाथि गरिएको परीक्षणमा ३४ जना कुपोषित र ३ जना दीर्घ कुपोषित फेला परेका छन् ।
कुपोषित बालबालिकाका लागि पोषण परामर्श, नियमित स्वास्थ्य निगरानी, पोषणयुक्त खाद्य सामग्री वितरण तथा अभिभावक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार शिक्षा, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ, कृषि विकास, पशुपन्छी विकास, शासकीय प्रबन्ध र स्वास्थ्य क्षेत्रअन्तर्गत रहेका ५९ वटा सूचक पूरा गरेपछि मात्रै पोषणमैत्री स्वास्थ्य संस्था, वडा तथा पालिका घोषणा गर्न सकिने व्यवस्था छ ।
पोषणमैत्री पालिका घोषणा भएपछि कुपोषण न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य सुधार, खाद्य सुरक्षाको प्रवद्र्धन, सरसफाइ व्यवस्थापन र स्वस्थ समुदाय निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्