परिवार स्वास्थ्य हेरचाह कार्यक्रम वालिङमा शुभारम्भ
परिवार स्वास्थ्य हेरचाह कार्यक्रम वालिङमा शुभारम्भ
हुमा तिवारी
वालिङ , जेठ २०
“स्वास्थ्य सेवा अस्पतालमा मात्र होइन, परिवार र समुदायसम्म” भन्ने लक्ष्यसहित वालिङ नगरपालिकाले परिवार स्वास्थ्य हेरचाह कार्यक्रम शुभारम्भ गरेको छ । नुरा हेल्थ इन्टरनेशनलको साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रम स्थानीय सरकारको तहमा लागू गर्ने देशकै पहिलो पालिका वालिङ नगरपालिका बनेको छ ।
कार्यक्रमअन्तर्गत गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा, निगरानी तथा परामर्श प्रदान गरिनेछ। समुदाय नर्सहरूले घरघरमा पुगेर स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्ने, जोखिम पहिचान गर्ने तथा आवश्यक परे तत्काल स्वास्थ्य संस्थासँग जोड्ने व्यवस्था गरिएको छ। साथै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन् ।
नुरा हेल्थ इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. सुशील कोइरालाका अनुसार टेलि–सहायता सेवामार्फत स्वास्थ्यसम्बन्धी जानकारी र परामर्श सहज रूपमा उपलब्ध हुनेछ । उहाँले हाल यो कार्यक्रम संघीय तथा प्रदेश तहका १७ वटा अस्पतालमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षभित्र ५० भन्दा बढी अस्पतालमा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
“हामीले यो कार्यक्रम देशका विभिन्न अस्पतालमा सञ्चालन गरेका छौँ । स्थानीय सरकारको तहमा सञ्चालन गर्ने वालिङ नगरपालिका देशकै पहिलो स्थानीय सरकार हो । समुदायमै आधारित यस कार्यक्रमले आमा र नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ । कार्यक्रमका नतिजा र सिकाइलाई अध्ययन गर्दै आवश्यक सुधार तथा विस्तारका लागि नुरा हेल्थ इन्टरनेशनलले निरन्तर सहकार्य गर्नेछ ।” कोइरालाको भनाइ छ ।
वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले यसअघि सञ्चालन हुँदै आएको घरदैलो सामुदायिक नर्सिङ सेवा र विद्यालय नर्सिङ कार्यक्रमलाई परिवार स्वास्थ्य हेरचाह कार्यक्रमले थप सशक्त बनाउने बताउनुभयो। उहाँले वालिङ नगरपालिका पोषणमैत्री पालिका तथा बालमैत्री पालिका घोषणा गर्ने तयारीमा रहेको उल्लेख गर्दै यस कार्यक्रमले ती अभियानलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेका अनुसार स्वास्थ्यसम्बन्धी अज्ञानता, ढिलो निर्णय तथा समयमै उपचार नपाउँदा हुने आमा र शिशुको मृत्युदर न्यूनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । घरमै स्वास्थ्य सेवा र प्रविधिमार्फत परामर्शको सुविधा उपलब्ध हुँदा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै जोखिमयुक्त अवस्थाको समयमै पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
यस कार्यक्रममार्फत गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको स्वास्थ्य निगरानी नियमित हुने, आवश्यक स्वास्थ्य परामर्श घरमै उपलब्ध हुने तथा जटिल अवस्था देखिएमा तुरुन्तै स्वास्थ्य संस्थासँग समन्वय हुने भएकाले वालिङका आमा र शिशुको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । साथै सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्