अब किसानको घरबाटै बजारसम्म तरकारी : वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा

सुशील सुवेदी
१९ साउन , स्याङ्जा

वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । वालिङ नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पुर्‍याउने व्यवस्था सुरु भएको हो ।

वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्था  ( वालिङ कृषि विकास परियोजना ) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो। यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार यो सेवा कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो ।

“कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो सेवा किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन,”ज्ञवालीले बताउनुभयो ।

हाल सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र उत्पादन ताजा अवस्थामै बजारमा पुग्ने अपेक्षा गरिएको छ ।

सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्याल भन्नुहुन्छ ,“पहिले ढुवानी नहुँदा धेरै तरकारी कुहिन्थ्यो, बजारसम्म पुर्‍याउन कठिन हुन्थ्यो । अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सक्ने अवस्था बनेको छ ।”

वालिङ नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै ७ लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान किसानलाई वितरण गरिएको थियो ।

सहकारीका प्रवन्धक युवराज रेग्मीका अनुसार गत वर्ष १ लाख ५८ हजार २ सय ६८ केजी तरकारी सहकारीमार्फत संकलन भएको थियो ।

“कृषि एम्बुलेन्सले एकै पटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्छ । यसले ढुवानी लागत घटाउने मात्र होइन, किसानलाई व्यावसायिक खेतीतर्फ अझ आकर्षित गर्नेछ ,”रेग्मीले बताउनुभयाे ।

कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला सुदृढ हुने नगरपालिकाको विश्वास छ । यसले विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार गर्दै आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेअपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.